सर्वोच्चको आदेश पालना गर्न प्रहरी हेडक्वार्टरको सर्कुलर
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको आधारमा अवकाश दिने प्रावधान हाललाई कार्यान्वयन नगर्न हेडक्वार्टरले मातहतका सबै युनिटलाई जानकारी गराएको छ । सर्वोच्च अदालतको बिहीबारको आन्तरिम आदेशपछि नेपाल प्रहरीले उक्त पत्राचार गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका युनिटलाई हिजो गरेको पत्राचारमा अदालतको आदेशबमोजिम कार्य गर्न गराउन भनिएको छ । पत्रमा लेखिएको छ, ‘प्रहरी नियामवली, २०७१ (संशोधनसहित) को नियम १२७ मा उल्लेखित अनिवार्य अवकाशका प्रावधानहरुमध्ये ३० वर्ष सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धित विषयमा सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम कार्य गर्नु गराउनु हुन अनुरोध छ ।’
प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउन माग राख्दै आगामी आइतबार अवकाशमा जान लागेका २१ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्चले गत बिहीबार अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो ।
यसअघिका बृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरु किन कार्यान्वयन नभएको उल्लेख गर्दै इजलासले संविधानको धारा १२८ (४) बमोजिम कारबाही किन चलाउनु नपर्ने ? भन्ने सम्बन्धमा विपक्षीहरुसँग १५ दिनभित्र छुट्टाछुट्टै जवाफ मागेको छ । आदेशमा मुद्दालाई अग्राधिकार प्रदान गर्दै असोज १० गते पूर्ण इजलासमा पेश गर्न भनिएको छ ।
टिप्पणीहरू