अस्पतालको फोहोर व्यवस्थापनमा चरम लापरबाही
काठमाडौं महानगरपालिकाले कलंकीस्थित नेपाल नेसनल हस्पिटलको फोहोर संकलनमा रोक लगाएको छ । अस्पतालको जोखिमपूर्ण फोहोर व्यवस्थापन गत वर्षभन्दा झन् खराब देखिएपछि महानगरले फोहोर संकलनमा रोक लगाएको जनाएको छ ।
महानगरको वातावरण विभागले अनुगमनका क्रममा अस्पतालमा उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागकी वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले बताइन् । अस्पतालमा वार्डहरुबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडि जस्ताले बारेको टहरा छ । टहरामा चार वटा कोठा छन् । महानगरका अनुसार तीमध्ये पहिलो कोठामा सिरिञ्ज र बोतलहरु छरपस्ट रहँदा अन्य कोठामा फोहोरका थुप्रै पोका भेटिए ।
फोहोर वर्गीकरण गर्ने व्यक्तिले पनि असुरक्षित रुपमा काम गरिरहेको पाइएको महानगरले जनाएको छ । गत वर्ष पनि अस्पतालको फोहोर वर्गीकरणको अवस्थाबारे महानगरले अनुगमन गरेको थियो । सो क्रममा फोहोर निर्मलीकरण मेसिन ‘अटोक्लेभ’ बिग्रिएको र तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको थियो । तर आजको अनुगमनमा मेसिन सञ्चालन गर्नुको सट्टा फोहोरको पोकोले पुरिएको अवस्थामा पाइएको जनाइएको छ ।
वातावरण निरीक्षक सृष्टि श्रेष्ठले उक्त अस्पतालले संक्रमित फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको बताउँदै अटोक्लेभ पनि सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाएको बताइन् । आजै कलंकीमा रहेको सहिद मेमोरियल अस्पतालको पनि महानगरले अनुगमन गरेको छ । सो क्रममा अस्पतालले गत वर्षभन्दा धेरै सुधार गरेको तर अटोक्लेभ मेसिन भने बिग्रिएको पाइएको छ ।
उक्त मेसिन सञ्चालन भएको नपाइएपछि महानगरले सहिद अस्पतालको फोहोर संकलनमा पनि रोक लगाएको छ ।
टिप्पणीहरू