जिल्ला समन्वय समितिको कार्यालयमा रक्सी सेवनपछि प्रमुख र काँग्रेस प्रवक्ताबीच हानाहान

जिल्ला समन्वय समितिको कार्यालयमा रक्सी सेवनपछि प्रमुख र काँग्रेस प्रवक्ताबीच हानाहान

‘रक्सी खाएपछि बिजोग’ भनेझैँ अछामका ललितबहादुर कुवँर र पदम शाहको हिजौ त्यस्तै भएको छ । उनीहरुले पहिले सँगै बसेर रक्सी पिए, नशा लाग्दै गएपछि अन्तिममा कुटाकुट गरेका हुन् । 
 

कुँवर जिल्ला समन्वय समिति प्रमुख हुन् । निर्वाचित जनप्रतिनिधि कुँवर नेपाली काँग्रेसका र शाह पनि सोही पार्टीका जिल्ला प्रवक्ता हुन् । 

दुबै जनाले हिजो समितिको कार्यालयमै बसेर राति अबेरसम्म रक्सी सेवन गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार रक्सी सेवन गर्दै गएपछि व्यक्तिगत विवाद भयो र कुटाकुटमा उत्रिए।

‘दुबै जनाले अफिसमा बसेर रक्सी खाएका रहेछन्’, डिएसपी भण्डारीले जनआस्थासँग भने, ‘केही पर्सनल विवाद भएपछि हानाहान भएछ ।’

कुटाकुटपछि घाइते कुँवर र शाहलाई तत्काल जिल्ला अस्पाताल पुर्याइएको थियो । शाहलाई सामान्य चोट र कुँवरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । शाह अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने कुँवर अस्पतालमै छन्। 

दुबै जनाको स्वास्थ्य अवस्था सामान्य भएपछि कुटाकुटको ठोस कारणबारे सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू