उडान सुरक्षा र यात्रुको सेवामा प्रतिबद्ध रहेको निगमको जिकिर

उडान सुरक्षा र यात्रुको सेवामा प्रतिबद्ध रहेको निगमको जिकिर

नेपाल वायुसेवा निगमले यात्रुको सेवासुविधा र हवाई उडानमा आफू प्रतिबद्ध रहेको बताएको छ । काठमाडौंबाट विभिन्न मुलुकमा जाने र उताबाट यता आउन खोजेका यात्रुहरुलाई अलपत्र पारेको समाचार प्रकाशित भएपछि निगमले नियामक निकायको निर्देशन, प्राविधिक पक्ष, बजार व्यवस्थापनलाई ध्यान दिएर उपलब्ध स्रोतसाधनबाट आफ्ना यात्रुलाई सेवा दिइरहेको जनाएको छ ।

निगमको वाइडबडी ‘अन्नपूर्ण’ इटालीमा दुई महिनादेखि अलपत्र, बाइडबडी ‘मकालु’ सी–चेकका लागि इटाली जाँदै र न्यारोबडी ‘सगरमाथा’ ग्राउण्डेड भएको भनि विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । दुई जहाज मर्मतका लागि बाहिर जाँदा र अर्को जहाज ग्राउण्डेड हुँदा करोडौं रुपैयाँ नोक्सानी भएको समाचारहरुमा उल्लेख छ । 

ग्राउण्डेड भएको भनिएको न्यारोबडी भोलि बिहान ११ बजेदेखि सञ्चालनमा आउने निगमले जनाएको छ । अमेरिकाबाट ‘स्पेर पार्ट्स’ झिकाउनु परेकाले समय लागेको निगमको भनाइ छ । उक्त जहाजमा खराबी देखिएपनि अन्य जहाजबाट पूर्वनिर्धारित उडान भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 

भनिएको छ, ‘नियमित मर्मत सम्भारका बाबजुद पनि प्राविधिक समस्या आई जहाज ग्राउण्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरु सुचारु राखिएको...।’, त्यसैगरी, वाइडबडी ए३३० जहाज इटालीमा मर्मत भइरहेको जानकारी दिइएको छ । 

निगमका अनुसार नाइनएन–एएलवाई कलसाइन भएको जहाज इटालीको एम–एस अटिटेक एस.पी.ए कम्पनीमा मर्मत भइरहेको छ । जहाजको विस्तृत जाँच, बस रोटेशन, एनटीएफ रिप्लेसमेण्ट, फ्युल ट्याङ्क इन्पेक्सन आदिको मर्मत गर्नुपर्ने देखिएको र त्यसका लागि जहाज निर्माण कम्पनी एयरबसले पनि काम गरिरहेको जानकारी दिइएको छ । मर्मतपछि जहाज छिट्टै सञ्चालनमा आउने बताइएको छ । 

निगमले विमान सी–चेक अनुगमनका लागि ईएमडी निर्देशक देवकृष्ण सञ्जेल, वरिष्ठ प्राविधिक अधिकृत सन्दीप तुलाधर र अधिकृत भागेश्वर विश्वासलाई पठाएको थियो । भीसा अवधि सकिएपछि उनीहरु फर्किनुपर्ने भएकाले अर्को टोली पठाउनु अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

अगष्ट महिनाभित्र जहाज मर्मत गरिसक्न पहल भइरहेको र नाइनएन–एएलजेट पनि सी–चेकका लागि पठाउन लागिएको छ । निगमका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा पर्सि काठमाडौंबाट दुबई हुँदै इटालीस्थित एमआरओमा न्यारो बडी जहाज पठाइनेछ ।

 

टिप्पणीहरू