भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी

काठमाडौंमा ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । भदौ २१ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको बताइएको छ ।

प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराइले तेस्रो पटक आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका डेढ सयभन्दा बढी स्टल रहने जानकारी दिए । 

उनले उच्च गुणस्तरका अत्याधुनिक एवम् नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीहरुको पनि स्टल रहने बताए । 

प्रदर्शनीमा वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल समेत रहने जानकारी दिएका छन् ।

प्रबन्ध निर्देशक भट्टराईले भने, ‘नेपालमै उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्याधिक टेवा पुर्याउनु प्रदर्शनीको उद्देश्य छ ।’ 

विद्युतीय उपकरणलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न, विद्युतीय सामग्रीको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि प्रदर्शनी आयोजना गर्न लागेको उनले बताए । नेपालीहरुको महान् चाड बडा दशैँको पूर्व सन्ध्यामा हुन लागेको प्रदर्शनीले आम नागरिकलाई थप आकर्षण गर्ने आयोजकको विश्वास छ ।

टिप्पणीहरू