‘नाडा अटो शो’ मा पहुँचवालाहरुले साना व्यवसायीलाई निमोठ्न खोजेको आरोप
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले ‘नाडा अटो शो–२०८१’ मा भाग लिनबाट वञ्चित गराएपछि हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले आपत्ति जनाएको छ । आफ्नो कम्पनीलाई कम मूल्याङ्कन गरेर प्रदर्शन गर्न नदिएको भन्दै प्रालिले लिखित चित्त दुखाएको छ ।
व्यवसायिक यात्रामा अघि बढ्दै गरेको कम्पनीलाई कसैको सुनियोजित षड्यन्त्रमा निमोठ्न खोजिएको प्रालिको भनाई छ । कम्पनीले आयात गरेको सवारी साधनप्रति ग्राहकको लोकप्रियता बढेकाले प्रदर्शनबाट वञ्चित गराइएको दर्ता नम्बर १० को निवेदनमा उल्लेख छ ।
नाडाका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा भनिएको छ,‘नाडाद्वारा सञ्चालित अटो शोलगायत विभिन्न गतिविधिमा हरेक वर्ष सहभागिता जनाउँदै आएको कुरा सर्वविदितै छ । यसपालिको नाडा अटो शो २०८१ मा पनि भाग नलिने प्रश्नै आउँदैन । तर, हजुरलाई नमस्ते ट्रेड लिंकद्वारा आयातित वस्तुहरुको देशव्यापी ग्राहकहरुको लोकप्रियता देखेर आत्तिएका कोही कसैको सुनियोजित षड्यन्त्रमा वा हामीलाई कम मूल्याङ्कन गरी कठोर परिश्रम र घरखेत धितो राखेर अघि बढ्दै गरेका हामीजस्ता साना व्यवसायीले आयात गरेको वस्तु तथा उत्पादन ग्राहकसामु प्रदर्शन गर्नबाट वञ्चित गराएकोमा र व्यवसायिक यात्रामा अघि बढ्दै गरेका हामीलाई अपमानित तथा निमोठ्न खोजिएकोमा आपत्ति व्यक्त गर्दछु ।’
नाडाले नियतवशः प्रदर्शनबाट वञ्चित गराएको कम्पनी आरोप छ । नाडाका सहसंयोजक अनुप बराल तथा कोषाध्यक्ष मिलन मल्लले स्टलको व्यवस्थापन मिलाइदिने प्रतिबद्धता जनाएपनि अहिले पछि हटेको उल्लेख छ । सोबारे जानकारी गराउन अध्यक्षलाई बारम्बार फोन र एसएमएस गर्दा कुनै जवाफ नपाएकोमा प्रालिको गुनासो छ ।
‘विषयगत जानकारी नै नभएको व्यक्तिसँग कथित समन्वय गरी हामीलाई वञ्चित गराउने उद्देश्य राखिएको जानकारी हुनेबित्तिकै यस नाडाका अध्यक्ष श्री करण चौधरीज्यूलाई एसएमएस तथा फोनमार्फत् जानकारी गराउन खोज्दा कुनै जवाफ नआएकोले यो संस्था हामीजस्ता सामान्य मेहेनती व्यवसाय गर्नेहरुभन्दा पहुँचवालाहरुको हालीमुहाली भएको महशुस भयो’,पत्रमा उल्लेख छ ।
टिप्पणीहरू