एक महिना नबित्दै नेपालगञ्ज रङ्गशालाको बिजोग

एक महिना नबित्दै नेपालगञ्ज रङ्गशालाको बिजोग

विकासको नाममा झारा टार्ने र बजेट स्वाहा पार्ने नेपाली प्रवृत्ति पूरानै हो । पुल बनिनसक्दै भत्किनु, नवनिर्मित भवनबाट पानी चुहिनु स्वाभाविकजस्तै बन्ने गरेको छ । बाँकेको नेपालगञ्ज रङ्गशालामा हालिएको ‘सेन्थेटिक ट्रयाक’ काम सकिएको एक महिना नपुग्दै उप्किन थालेको छ । 

ट्रयाक गुणस्तरहीन भएकाले एक महिना नबित्दै काम नलाग्ने अवस्थामा पुगेको बताइन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रङ्गशालामा ट्रयाक हाल्न पञ्चकन्या रसाइन कोट्स जेभी, ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गर्नेगरी सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएको थियो ।

तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सकाएको हो । निर्माण सम्पन्न भएको दाबी गरेको ठेकेदार कम्पनीले ट्रयाक राखेपलाई हस्तान्तरण गरेको छैन तर भुक्तानी भने लगिसकेको बताइन्छ । 

निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि ट्रयाकको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाउँदै विरोध जनाएका छन् । कम गुणस्तरको सामान प्रयोग, ट्रयाक निर्माण गर्दा माटो फिलिङसमेत राम्रोसँग नभएका कारण ट्रयाक प्रयोगमा नआउँदै क्षतिग्रस्त बनेको धेरैको बुझाई छ ।

सोही विषयलाई लिएर बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाहले क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । माग सुनुवाई गर्ने प्रतिबद्धतापछि ताल्चा खोलियो । तर, न राखेपले अनुगमन गर्यो न ठेकेदारको कामको निगरानी नै । यसबाट करोडौं लगानी, बालुवामा पानी बन्ने सम्भावना बढ्दै गएको छ ।

टिप्पणीहरू