यतिसम्म लखेट्नुको के होला अन्तर्य

यतिसम्म लखेट्नुको के होला अन्तर्य
सुन्नुहोस्

केपी ओलीले उपेन्द्र यादवलाई कसरी किनारातिर धकेल्दै लगे भन्ने घटनाक्रम निकै रोचक छ । ०७६ सालको मंसिरमा स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका पुगेका उनी उतै रहँदारहँदै कानुनमन्त्री बने । उनलाई हटाएर केपी ओलीले आफ्ना प्रियपात्र भानुभक्त ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए । केही महिनाअगाडि उनी फेरि अमेरिकै यात्रामा हुँदा अशोक राईहरूलाई अगाडि सारेर उनको पार्टी नै फुटाइदिए । यो क्रममा भने प्रचण्ड नराम्ररी प्रयोग भए । 

यता उपेन्द्र यादवलाई सङ्घीय सरकारको मन्त्रिमण्डलबाट हटाए, उता उनी मधेश प्रदेशमा पनि सरकारबाट बाहिर रहन बाध्य भए । यसरी उपेन्द्र यादवको पानी खेदो गर्नुको कारण के होला ? जानकारहरू भन्छन्– मधेशमा एमाले पहिलो पार्टी बन्न त्यस बेलासम्म सम्भव छैन, जबसम्म उपेन्द्र यादवको शक्ति निकै कमजोर बन्दैन । मधेश आन्दोलनताका ओलीले गरेको मेची–महाकाली यात्राका दौरान कञ्चनपुरबाट छिर्न नदिएको घटना उनको मानसपटलमा अझैसम्म ताजै रहेको धेरैको ठम्याई छ । एकपटक कोही व्यक्तिलाई भित्रैबाट शत्रु करार गरेपछि उसको पिछा कहिल्यै नछोड्ने बानी उपेन्द्रसँगको व्यवहारमा लागू भएको ओलीलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

त्यसो त केपी ओलीले आफू अप्ठ्यारोमा पर्दा चुनावमा सहकार्य उपेन्द्र यादवसँग नगरेका हैनन् । तर, लगाएको गुण नदेख्ने र आफ्नो अनुकूलतामा जे पनि गर्ने आदत उपेन्द्रसँगको सम्बन्धमा प्रष्टसँग देखिएको छ । थाहै नदिई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सारेर अपमानित गरिएपछि सरकारबाट बाहिरिनु उचित ठाने उनले । जसले गर्दा माधव नेपाल र प्रचण्डलाई केपी ओलीसँग पौंठेजोरी खेल्न सहज भयो । परिणामतः केपी ओली कमजोर बने र संसद विघटनको तहसम्म पुगे जसलाई पछि अदालतले उल्टाइदियो । यसरी आफ्नो कारणले सरकार ढलेको भए पनि ओलीचाहिँ त्यसको खास कारण उपेन्द्र यादवलाई ठान्छन् किनकि उनले सरकार नछोडेको भए त्यसबेला बहुमत गुमाउनुपर्ने अवस्थामा पुग्दैनथे । 

एकातिर ओलीले यसरी उपेन्द्रलगायत केही व्यक्ति र एकीकृत समाजवादीलगायत दलको खेदो खनिरहेका भए पनि जशजति ओलीले लिने र अपजश कांग्रेसले समेत बोक्नुपर्ने स्थिति छ । भोलि देउवा प्रधानमन्त्री बन्दाको अवस्थामा पनि फेरि हावीचाहिँ एमाले नै हुने हो । त्यसो हुँदा अन्ततः यो गठबन्धनको लाभ मिलाएर अघि बढ्न सके एमालेलाई पर्याप्त हुने र नेपाली कांग्रेसलाई चाहिँ ठूलो नोक्सानी पुग्ने पक्का छ । जसरी पनि कांग्रेसलाई सँगसँगै हिँडाएर अरुतिर हिलो छ्याप्ने अनि आफूचाहिँ पानीमाथिको ओभानो बन्ने रणनीतिलाई ठीक ढंगले बुझ्न सकेनन् भने अबको निर्वाचनबाट एमाले निकै मोटाउने र कांग्रेस अनपेक्षित रूपमा दुब्लाउने स्थिति बन्न सक्छ भनिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू