दर खाने कि दारू ?
-मेघेन्द्र थापा
तीज आउन अब तीन दिन बाँकी छ । गाउँ शहरका महिलाहरु तीजको रौनकमा रमाइरहेका छन् । खासगरी, तीजको गीत र रातो साडीले उल्लासमय वातावरण बनाएको देखिन्छ ।
तर पछिल्लो समय चाडपर्वको नाममा हावी हुँदै आएको पश्चिमा संस्कारले तीजको धार्मिक आस्था, परम्परा र संस्कारलाई ध्वस्त पार्दै लगेको छ । यदि अहिलेकै श्रृंखला चलिरहने हो भने दुई–चार वर्ष पछिको तीज ‘तीज’ नभएर ‘सीज’ हुन्छ । सीज् अर्थात एउटा मौलिकताको पूर्णविराम । एउटा आस्थाको कत्लेआम । एउटा परम्पराको दफन ।
दरको नाममा दारु
धार्मिक ग्रन्थहरुका अनुसार हिमालय पुत्री पार्वतीले एक सय वर्षको तपस्यापछि भाद्र शुक्ल तृतीयाको दिन भगवान शिवलाई प्राप्त गरिन् । सोही दिनलाई नै तीजको रुपमा मनाइन्छ । यद्यपि, तीजलाई भाद्र शुक्ल दिृतीयादेखि पञ्चमीसम्म (चार दिन) मनाउन सकिने ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
तर अहिले हाम्रो समाजमा तीज एक महिनाअघि देखि नै मनाउन थालिएको देखिन्छ । मनाउने तरिकाहरु पनि थरी–थरीका छन् । नयाँ रातो साडी लगाउनै पर्ने ! नाक, कान, घाँटीमा गहना झुण्डाउनै पर्ने ! जुन, एउटा गलत प्रवृतिको रुपमा विकास भइरहेको छ ।
के पार्वतीले पनि नयाँ साडी र गहना लगाएरै ब्रत बसेकी थिइन् ? यसको जवाफ महिलाहरुसँग छ ? पक्कै छैन ।
तीजको दर खाने परम्परा झन् हानिकारक साबित हुँदै गएको छ । सामान्यतयाः दशक अघिकै नेपाली समाजलाई नियाल्ने हो भने दिदि–बहिनी तथा महिलाहरु एकैठाउँमा जम्मा भएर दरको रुपमा खिर, ढकने, सेलराटी, दही, केरा, स्याउ लगायतका फलफुल खान्थे ।
तर अहिले दर रुपमा भोजनको स्वरुप परिवर्तन भएको छ । अहिले महिलाहहरु सार्वजनिक चौतारी वा मैदानमा भेट हुँदैनन् । कहाँ हुन्छन् त ? पार्टी प्यालेसमा ! रेष्टुरेण्टमा ! बार, लाउन्ज र क्लबमा !
अनि उनीहरुले खिर, दही, फलफूल खान्छन् त ? खाँदैनन् । उनीहरुले खान्छन्, मासुसँग बियर र ह्वीस्की ।
यसो भन्दै गर्दा एउटा सवाल आउन सक्छ । महिलाहरुले वर्ष दिनको चाडमा दारू खादा पुरुषहरुलाई के समस्या ? उनीहरुले त वर्षैभरी खान्छन् त !
तर यो सस्तो तर्क हो । महिलाहरुलाई मदिरा पिउन कहिल्यै÷कुनै प्रतिबन्ध गरिएको छैन । लगाइएको छैन । महिलाहरुले पनि इच्छाअनुसार वर्षभरी नै पिउन सक्छन् । तर तीजको दिन दरको नाममा दारु खादा भावी पुस्तामा डरलाग्दो असर पर्दैछ भन्ने कुरा हेक्का राख्न जरुरी छ ।
यदि अहिले तीजकै बेला महिलाहरुले मदिरा पिउने परम्पराको विकास गरे भने १० वर्षपछिको पुस्ताले ‘दर खाने भनेकै दारु खाने रहेछ’ भन्ने मान्यतालाई तीजको आधिकारिक मान्यता ठान्छन् । र, यो नतिजा नै अहिलेको विकृत परम्पराको उपज हुनेछ ।
तीजका मौलिक लयहरू पनि अलप
तीजका आफ्नै मौलिक लयहरु छन् । तीजमा रौनक बढाउने अर्गानिक शब्दहरु छन् । तीजका आफ्नै धुनहरु छन् । तर पछिल्लो समयका तीज गीतहरु भने तीज गीत कम, आइटम गीत बढी लाग्छन् । यसको उदाहरण हेर्न कतै जानै पर्दैन, यूटुबमा गएर हेरे पुग्छ । अपवादका केही गीतबाहेक अधिकांश गीतहरुमा यौन आशयका शब्दहरु छन् ।
शहर त शहर भइहाल्यो ! आधुनिकताको उन्मादले ठूलो साउन्ड बक्समा अटो ट्युन गरिएको गीत बजाएर महिलाहरु झुम्मिन्छन् । हुँदा–हुँदा पछिल्लो समय गाउँमा समेत मादल र बाँसुरीको धुन सुन्न छाडिएको छ । विभिन्न आमा समूह, महिला समूह, परोपकारी समूहहरुले समेत साउण्ड बक्समा रेडिमेड गीत बजाएर मेला लगाएको देखिन्छ ।
यदि महिलाहरुले चाहेमा गाउँका बैकलहरुमा झुण्डिएका मादलबाट लय निकाल्न सक्छन् । निदालमा निदाइरहेका बाँसुरीबाट धुन निकाल्न सक्छन् । तर आधुनिकताको हानिकारक प्रभावले ग्रामीण समुदायका महिलाहरुबाट समेत तीजको अस्तित्व सुरक्षित हुने अवस्था छैन ।
देखावटी गर्नु तीजको परिभाषा हो ? महंगा साडी र गहनाको प्रतिस्पर्धा गर्नु तीजको आदर्श हो ? मदिरा पिउनु तीजको मान्यता हो ? आइटम जस्ता गीतमा अशोभनीय नृत्य गर्नु पार्वतीको निर्देशन हो ? कृपया, यावत विषयहरुमा नेपाली दिदि–बहिनीहरुले सुक्ष्म रुपमा आत्म समीक्षा गरुन् ।
टिप्पणीहरू