पहिले चलखेलको हल्ला, अहिले सर्लक्कै घर जाने सल्लाह

पहिले चलखेलको हल्ला, अहिले सर्लक्कै घर जाने सल्लाह

रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरण र ६० किलोग्राम सुनकाण्डको ढाकछोप र अन्य संवेदनशील घटनामा संलग्नता रहेको आरोपपछि नेपाल प्रहरीका एआइजी श्याम ज्ञवालीमाथि छानबिन थालिएको एक महिना पुगेको छ । आगामी बुधबारदेखि उमेर हदका कारण अवकाशमा जान बिदा बसेका उनीमाथि अर्का एआइजी टेकप्रसाद राई नेतृत्वको टोलीले छानबिन गरिरहेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एआइजी ज्ञवाली अवकाश हुन तीन दिन बाँकी रहँदा उनीमाथि भइरहेको छानबिन प्रतिवेदन बुझाउने तरखर अझैसम्म पनि  देखिँदैन । छानबिन टोलीले पर्सिसम्म रिपोर्ट नबुझाए उनी भोलिपल्टदेखि नियमानुसार अवकाश लिएर घर जाँदैछन् ।

उक्त छानबिनलाई नजिकबाट नियालिरहेको प्रहरी स्रोत भन्छ, ‘थप अनुसन्धान गर्ने ठाउँ देखिएको भनेर रिपोर्ट दिए उनीविरुद्धको कारबाही प्रक्रिया अगाडि बढ्न सक्छ । त्यसमा अख्तियार वा अन्य नियमनकारी निकायले ज्ञवालीलाई अनुसन्धानको दायरामा ल्याउन सक्छन् । तर, त्यही रिपोर्ट पनि देलान् जस्तो लागेन । चोख्याउँदै घर पठाउने काम मात्रै होला जस्तो छ ।’

उनीविरूद्ध रविको सहकारी काण्डबाहेक एलओडी डिस्कोको नाबालिका करणी, बालमन्दिरको जग्गा घोटाला,सेन्ञ्चुरी बैंकको कर्जा हिनामिनामा प्रतिवादीसँग बढाएको हिमचिम र आर्थिक लेनदेनसमेत गरेको आरोपमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

त्यसैगरी ज्ञवालीमाथि पदीय मर्यादाको दुरूपयोग गरेको र चेन अफ कमाण्ड तोडेको आरोप पनि छ । यसअघि आइजिपीका दाबेदार उनी उमेर विवादमा परेका थिए ।
 

टिप्पणीहरू