नजिकियो चाडबाड, अनुगमन सुनसान

नजिकियो चाडबाड, अनुगमन सुनसान
सुन्नुहोस्

हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैँ नजिकिएको छ । दशैँ शुरु हुन एक महिना पनि बाँकी छैन । आगामी असोज १७ गते (घटस्थापना) देखि दशैँ औपचारिक रुपमा शुरु हुँदैछ ।

दशैँमा परिवारका सदस्यहरुबीच एकापसमा खुशियाली साटिन्छ । तर, हरेक वर्ष दशैँ–तिहार नजिकिएसँगै बजारमा कालोबजारीलगायत अवाञ्छित क्रियाकलाप मौलाउने गरेको छ ।

चाडबाड अगावै व्यापारीहरुले सामानको मूल्य ह्वात्तै बढाउन अनेका बहाना गरेको पाइन्छ । सामानको कृत्रिम अभाव गराएर उपभोक्ताबाट दोब्बर–तेब्बरसम्म मूल्य असुलिन्छ । बिडम्वना, सम्बन्धित निकायको फितलो बजार अनुगमनका कारण वर्षेनी सर्वसाधारण चाडपर्वकै समयमा ठगिँदै आएका छन् । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला अभावको अवस्था आउन नदिन सरकारी अधिकारीहरुलाई सचेत गराउनुभएको थियो । उहाँले दशैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ,’ उहाँले भन्नुभएको थियो, ‘यस्ता विषयमा कुनै सम्झौता हुनुहुँदैन । कुनै भनसुन चल्दैन ।’

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सचेत रहेको बताउनुभएको थियो । उहाँले भदौको पहिलो साता प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चाडपर्वका समयमा बजारमा हुने खाद्य वस्तुहरुको अभाव, मूल्य समायोजनलगायत विषयमा सरकार सचेत रहेको बताउनुभएको हो । 

मन्त्री भण्डारीले खाद्यान्नको अभाव नहुने गरी चामल, चिनीलगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यद्यपि, चाड सर्वसाधारणको आँगनमै आइपुग्न थालेपनि सरकारी निकायहरु अझै कालोबजारी रोक्न तथा खाद्यान्नको सहज आपूर्तिमा जुटेको पाईंदैन । बजारमा सामानको अस्वाभाविक मूल्यवृद्धि शुरु भइसकेको छ भने सरकारी संयन्त्र अनुगमनमासमेत जुटेको देखिँदैन ।

दशैँ–तिहार नेपालीजनको ठूलो चाड हो । अन्य समयभन्दा यो समयमा चामल, चिनी, मासु, मैदा, तेललगायत खाद्यान्नको बढी माग र खपत हुने गर्छ । यसैको फाइदा उठाउँदै व्यापारीहरुले वर्षेनी सामानको कृत्रिम अभाव गराएर उपभोक्ता लुट्दै आएका छन् । 

यसलाई रोक्न सरकारले बेलैमा सामानको जोहोसँगै आवश्यक तयारी गर्नुपर्ने हो । तर, सम्बन्धित निकायको लापरबाही भनौं या कमीकमजोरीले जहिल्यै चाडपर्वकै समयमा सरकारी गोदाम समेत रित्तो हुने गरेको छ । अर्कोतर्फ, यही समयमा बजार अनुगमन समेत सुस्त हुने गर्छ । 

चाडबाडलक्षित बजार अनुगमन कहिले ?

दशैंको सुरसार भइसक्दासमेत चाडपर्वलक्षित बजार अनुगमनको अझै टुंगो लागेको छैन । त्यसको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिलेसम्म दशैँ–तिहार लक्षित विशेष अनुगमन टोली परिचालनको कार्ययोजना नै बनाएको देखिँदैन ।

विभागका महानिर्देशक राजन पौडेलसहित निर्देशक राकेश पाण्डे विदेश भ्रमणमा गएकाले बजार अनुगमनमा ढिलाई भएको बताइन्छ । यद्यपि, महानिर्देशक फर्किएलगत्तै चाडबाडलक्षित विशेष अनुगमन थालिने विभागका शाखा अधिकृत गायत्र श्रेष्ठको दाबी छ ।

जनआस्थासँगको कुराकानीमा भने, ‘महानिर्देशकज्यूसहितको टोली चीनमा आयोजित एक कार्यक्रममा सहभागी हुन केही दिनअघि त्यता जानुभएको हो । उहाँहरु आज फर्किने तालिका छ । फर्किनेबित्तिकै चाडबाडलक्षित बजार अनुगमन शुरु हुन्छ ।’ उनले अहिले विभागद्वारा नियमित रुपमा बजार अनुगमन गरिरहेको पनि बताए । 

असोज पहिलो सातादेखि ‘सहुलियत पसल’ 

सरकारले हरेक वर्ष चाडबाडको समयमा उपभोक्तालाई खाद्यदेखि विभिन्न सामान खरिदमा छुट दिनका लागि ‘सहुलियत पसल’ सञ्चालन गर्दै आएको छ । यो वर्ष दशैं शुरु हुनु एक साताअघि सहुलियत पसल सञ्चालन गर्ने तयारी छ । 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने असोज पहिलो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने योजना रहेको बताउँछिन् । भनिन्, ‘असोज पहिलो साता ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने योजना छ । तर, ठ्याक्कै मिति यकिन भइसकेको छैन ।’

अघिल्ला वर्षजस्तै यसपटक पनि खाद्य कम्पनीसहित साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । सूचना अधिकारी शर्मिलाले यो वर्ष मुलुकका विभिन्न ४२ वटा जिल्लामा सहुलियत पसल सञ्चालन गरिने पनि जानकारी दिएकी छन् । 
‘कम्पनीले ४२ जिल्लामा ६१ वटा सहुलियत पसल सञ्चालन गर्नेछ,’ उनले भनिन्, ‘छुटको विषयमा भने अहिले केही भन्न सकिँदैन । किनकी कुन सामानमा कति छुट दिने भनेर तय भइसकेको छैन ।’

यो वर्षको दशैँमा कम्पनीले १५ सय खसीबोका र तीन सय च्याङ्ग्रा बिक्रीमा राख्ने योजना बनाएको छ । पोहोर खसीबोका र च्याङ्ग्रा बेच्न समस्या परेकाले यसपटक संख्या घटाउन लागिएको हो । 

गत वर्ष खाद्य कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो । तर, दशैं–तिहारमै मासुको खपत घटेपछि कम्पनीले घाटा बेहोर्नुपरेको थियो । यो वर्ष तुलसीपुर र हेटौँडाबाट २५ सय खसीबोका र मुस्ताङबाट तीन सय च्याङ्ग्रा ल्याइने सूचना अधिकारी न्यौपानेको भनाई छ ।

टिप्पणीहरू