उद्योग मन्त्रीलाई कतार भ्रमणको निम्तो

उद्योग मन्त्रीलाई कतार भ्रमणको निम्तो
सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारी राजदूत मिसाल मोहम्हद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा मन्त्रीले कतार सरकारले आयोजना गर्न लागेको एसियन कोअपरेसन डाइलग (एसिडी) को तेस्रो शिखर सम्मेलन सफलताको शुभकामना दिनुभएको बताइएको छ ।

नेपाल र कतारबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो । ठूलो संख्यामा नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

हाल कतारमा साढे तीन लाखबढी नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत छन् । सन् २०२१ मा नेपाली व्यवसायी संघ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको मन्त्रीले राजदूतसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ ।

कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्न तथा नेपालमा लगानीको अपेक्षा गरिएको मन्त्रीको धारणा छ । यस्तै, दुई देशबीचको पारस्परिक सम्बन्ध प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको मन्त्रालयको भनाई छ । 

नेपालको व्यापार घाटा कम गर्न र नेपाली उत्पादनलाई कतारमा बजारको खोजी गर्न आवश्यक देखिएको मन्त्रीको भनाई छ । ‘कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

भेटमा राजदूत अन्सारीले मन्त्री भण्डारीको धारणामा सकारात्मक प्रतिक्रिया जनाउँदै कतार भ्रमणको निम्तो समेत दिनुभएको छ । उहाँले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै आगामी असोज १६ गतेदेखि कतार भ्रमणका लागि निमन्त्रणा दिनुभएको हो ।

टिप्पणीहरू