‘महासंघ अध्यक्षको राजीनामा चुनाव नगराउने प्रपञ्च’

‘महासंघ अध्यक्षको राजीनामा चुनाव नगराउने प्रपञ्च’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि आगामी असोज ५ गतेका लागि तय भएको निर्वाचन अनिश्चित बनेको छ । अध्यक्ष पोखरेलले हिजो राजीनामा पत्र बुझाएसँगै महासंघको निर्वाचन अन्यौलग्रस्त भएको छ । 

तेस्रोपटक तोकिएको समयमा पनि निर्वाचन गराउन नसकेको भन्दै उनले हिजोबाट पद त्यागेका छन् । आफूले चुनाव गराउन चाहँदाचाहँदै केही सदस्यले असहयोग गरेको उनको भनाई छ ।

‘नेपाल पत्रकार महासंघको विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अवस्थामा विभिन्न कारणले निर्वाचन हुन नसकेको अवस्था रहेको छ । दुईपटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रोपटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरु बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महशुस गरेन’,पत्रमा भनिएको छ । 

त्यस्तै, उनले निर्वाचन गराउन नसक्नु आफ्नो कमजोरी भएको बताएका छन् । उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्ष तोक्दै भनेका छन्, ‘विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिकसमेत) जिम्मेवारी वहन गर्नेगरी कार्यवाहक अध्यक्षका रुपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागु हुनेगरी अध्यक्ष पदमा राजीनामा दिएको छु ।’

गत वैशाखमा सम्पन्न पत्रकार महासंघको २७ औ महाधिवेशनले जेठ २६ गते चुनाव गराउने निर्णय गरेको थियो । तर, सदस्यता शुद्धिकरणलाई लिएर विवाद भएपछि तोकिएको समयमा निर्वाचन हुन नसकेको हो । यता, सदस्यता शुद्धिकरण न्यायसंगत नभएको भन्दै विभिन्न पार्टीनिकट संगठनले महासंघमा तालाबन्दी गरेका थिए । 

त्यसपछि गत असार २२ गतेका लागि निर्वाचन तय गरियो । महासंघको केन्द्रीय समितिले निर्वाचन कार्यतालिकासमेत प्रकाशित गरिसकेको थियो । तर, अन्तिम समयमा निर्वाचन स्थगित गरिएको हो । आगामी असोज ५ गतेका लागि तोकिएको निर्वाचन पनि अनिश्चितकालीन बनेको छ । अध्यक्षले निर्वाचनको पूर्वसन्ध्यामा पदबाट राजीनामा दिएसँगै निर्वाचन हुने–नहुने भन्नेबारे थप अन्यौल पैदा भएको छ । 

के भन्छ पत्रकार महासंघ ? 

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट आज बस्ने केन्द्रीय समितिको बैठकको निर्णयपछि मात्र चुनावबारे भन्न सकिने बताउँछन् । पोखरेलको राजीनामा केन्द्रीय समितिको बैठकले स्वीकृत गरिनसकेको उनले जानकारी दिए । ‘उहाँको राजीनामा हाम्रो लागि पनि अप्रत्याशित छ । आज हामीले केन्द्रीय समितिको बैठक बोलाएका छौं । उहाँको राजीनामा स्वीकृत गरेपछि निर्वाचन समितिको बैठक बस्छौं । निर्वाचन तोकिएको मितिभन्दा अघिपछि हुन सक्छ तर हुन्छ नै’,उनले भने ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन, २०७५) ले हरेक तीन वर्षमा महासंघको निर्वाचन गराउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, महासंघको जुनसुकै तहका पदाधिकारीहरु लगातार दुई पटकभन्दा बढी सोही पदमा रहनेगरी उम्मेदवार हुन नपाउने विधानमा उल्लेख छ । 

उक्त विधानको परिच्छेद ९ को दफा ७ ले अध्यक्षको कार्यकाल पुगेको ६ महिनाभित्र निर्वाचनका लागि मिति तोक्नुपर्ने व्यवस्था गरेको छ । भनिएको छ,‘समितिले तीन वर्ष पुगेको दिनदेखि पहिलोपटक बढीमा ६ महिनाभित्र निर्वाचनका लागि अर्को दिन तोक्ने छ । यसरी मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सिर्जना भई निर्वाचन गर्न असम्भव भएका प्रदेश र जिल्ला अध्यक्षहरु सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्नेगरी मिति तोकिने छ ।’

चुनाव नगराउने नियत होः जैसी

श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदैव जैसी महासंघको चुनाव नगराउने नियत देखिएको बताउँछन् । महासंघ पार्टीगत गुटको थलो बनेको उल्लेख गर्दै उनले चुनाव हुन हम्मेहम्मे रहेको गुनासो गरे ।

महासंघमा दलीय संगठनको हस्तक्षेप बढी भएको उनको भनाइ छ । ‘निर्वाचन पहिले नै सम्भव हुन्थ्यो । तर, नेतृत्व सक्षम नहुँदा यो अवस्था निम्तियो । महासंघमा दलीय संगठनको अनावश्यक हस्तक्षेप बढी भयो । पत्रकारिता क्षेत्रमा भिजेकोभन्दा पार्टीको नेतृत्व गर्ने व्यक्तिलाई महासंघको नेतृत्व दिने गरिएको छ । यसले गर्दा महासंघको अस्तित्व नै संकटमा परेको छ । विधान मिचिएको छ । यही अवस्थामा चुनाव हुन धेरै गाह्रो देखिन्छ’,उनले भने । 

तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रेस युनियन

नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने अडान लिएको छ । युनियनका अध्यक्ष शिव लम्सालले महासंघ र महासंघकर्मीको हित हुनेगरी असोज ५ गते नै निर्वाचन गराउनुपर्ने बताए । 

भन्छन्,‘हाम्रो युनियनको आज बसेको बैठकले असोज ५ गते नै निर्वाचन हुनुपर्ने अडान लिएको छ । अध्यक्ष नभएपनि निर्वाचन गर्नलाई खासै प्रभाव पर्दैनन् । महासंघ, महासंघकर्मीको हित हुनेगरी तोकिएकै समयमा निर्वाचन हुनुपर्ने हाम्रो धारणा हो । प्रेस सेन्टर, प्रेस चौतारी र प्रेस युनियनको बैठक बसेर अगाडि के गर्ने ? भनेर निर्णय लिन्छौं ।’
 

टिप्पणीहरू