कार्यालयको कम्प्युटरमा सेयर कारोबार गर्ने कर्मचारीलाई आपत्

कार्यालयको कम्प्युटरमा सेयर कारोबार गर्ने कर्मचारीलाई आपत्
सुन्नुहोस्

सरकारले सिंहदरबारसहित देशभरका सरकारी तथा सार्वजनिक निकायका कम्युटरबाट हुँदै आएको सेयर कारोबारमा रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयसहित सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई परिपत्र गर्दै कर्मचारीहरुले कार्यालय समयमा सेयर कारोबार गर्न नपाइने व्यवस्थाका लागि निर्देशन दिएको छ । 

त्यससम्बन्धी चेकजाँच गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । परिपत्रमा भनिएको छ, ‘नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन आदेशानुसार अनुरोध छ ।’ 

सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवा अवरोध भएको जनाउँदै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार टोलीले सिंहदरबारमा छड्के अनुगमन गर्दा केही कर्मचारीले सेयर कारोबार गरेको पाइयो । 

अख्तियारको पत्रपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारसहित मुलुकभरका सरकारी तथा सार्वजनिक निकायमा सेयर कारोबारमा रोक लगाउन परिपत्र गरेको हो ।

टिप्पणीहरू