आगामी दशैंमा पनि सर्वसाधारणलाई सास्ती निश्चित

आगामी दशैंमा पनि सर्वसाधारणलाई सास्ती निश्चित

हिन्दू धर्मावम्बीहरुको महान् चाड दशैं असोज १७ गतेदेखि शुरु हुँदैछ । मुख्य चाडपर्व शुुरु हुन छोटो समय बाँकी रहेपनि सरकारले पूर्वतयारी गरेको देखिँदैन । हरेक वर्ष दशैंमा २० देखि २५ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने गरेका छन् । 

सबैभन्दा ठूलो चाड मनाउन सर्वसाधारण वर्षमा एक पटक आफ्नो जन्मथलो जाने गरेका छन् । तर, पछिल्लो समय दशैं धेरैको निम्ति दशा बनिरहेको छ । परिवारसँग रमाउन हिँडेकाहरु घरसम्म पुग्ने निश्चित नै हुँदैन । घर जानेको चाप बढी हुने भएकाले सवारी साधन पाउन महाभारत हुने गरेको छ ।

लामो रुटमासमेत झुण्डिँदै यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न हुन्छ । हरेक वर्ष यात्रुले एउटै समस्या भोगिरहेको देख्दा पनि सरकारले सुधारको प्रयास गरेको पाइँदैन् । दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउन सरकारले अहिलेसम्म पनि तदारुकता देखाएको छैन । अग्रिम टिकट बुकिङ्ग खुल्लाका लागि सरकारले हालसम्म सरोकारवालासँग छलफल नगरेको बताइन्छ । 

यता, कतिपय यातायात सेवाले आफूखुशी टिकट बुकिङ्ग खुलाएका छन् । जसका कारण सर्वसाधारण अन्यौलमा परेका छन् । सरकारले अग्रिम टिकट बुकिङ्ग नखुलाउँदै यातायात व्यवसायीले दशैंलक्षित बुकिङ्ग शुरु गरेपछि सर्वसाधारण अलमलमा परेका हुन् । 

टिकट बुकिङ्गमा ढिलाइ, सर्वसाधारणलाई सास्ती 

दशैं मनाउनेसँगै नमनाउनेहरु पनि छुट्टीको मौका छोपेर गाउँघर फर्किन्छन् । त्यसैले राजधानीबाट गाउँघर जानेको चाप निकै हुने गरेको छ । लामो रुटमा चल्ने सार्वजनिक यातायातले चाप नथेग्ने नभएकाले सरकारले रुट परमिट खुला गरिदिन्छ । 

तरपनि, टीकाको दिनसम्म बस खचाखच हुन्छ । दशैंको मौका छोपेर यातायात व्यवसायीले अनेकथरी माग राख्ने गरेका छन् । जसले गर्दा टिकट बुकिङ्गमा झनै ढिलाइ हुने गरेको छ । सरकारले घटस्थापनाको एक साताअघिदेखि टिकट बुकिङ्ग खुल्ला गर्छ । टिकट खुला गरेपनि एकाध दिनमै सिद्धिएको सूचना दिइन्छ । 

त्यसपछि यात्रु दोब्बर भाडा तिर्न बाध्य हुन्छन् । ज्यानको बाजी राख्दै ढोकामा झुण्डिएर यात्रा गर्छन् । सरकार आफ्नो कर्तव्य निर्वाह गर्न चुक्दा यात्रुले सास्ती पाइरहेका छन् । यात्रुले भाडा तिर्छन्, तर ज्यानकै ग्यारेण्टी हुँदैन । 

गन्तव्यसम्म पुगिएला कि नपुगिएला ? भनेर थर्कमान भएर यात्रा गर्नुपर्ने अवस्था सँधै छ । सरकारले छतमा यात्रु राख्न रोक लगाएपनि ठाउँठाउँमा अनुगमन नहुँदा चालक र सहचालकले छतमा यात्रु हालेर गाडी दौडाउने गरेका छन् । गन्तव्यमा पुग्नैपर्ने बाध्यताले यात्रु पनि कष्टकर यात्रा गर्छन् । 

हरेक वर्ष दशैंमा यात्रुलाई टिकटकै चिन्ताले सताउने गरेको छ । बिहानैदेखि लाइन बस्दापनि टिकट पाइँदैन । यात्रुले कहिल्यै सहज रुपमा यात्रा गर्न नपाएकाले यो वर्षपनि त्यस्तै समस्या झेल्नुपर्ने निश्चित छ । 

दशा बन्दै दशैं 

दशैं उमङ्ग र हर्षको पर्व हो । तर, कतिबेला कतिपयका लािग दशा बनिदिन्छ । दशैंमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छ । विगतमा दिनहुँजसो सवारी दुर्घटनाको समाचार सुनिएको थियो । केही वर्षअघि दशैंमा घर जाँदै गरेको बस मुगुको राराछाँयानाथ नगरपालिकामा दुर्घटनाग्रस्त हुँदा ३२ जनाको एकैठाउँ निधन भएको थियो । बस भिरालो कच्ची बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो । सीटभन्दा बढी यात्रु हाल्दा बस दुर्घटनामा परेको पछि अनुसन्धानबाट खुल्यो । दुर्घटनाका कारण चाडपर्वमा गाउँ नै शोकमा डुब्यो ।

अन्य बेला सवारी साधनमा दोब्बर यात्रु चढाउने सहचालकले चाडबाडमा ब्रेकले धान्न नसक्नेगरी यात्रु खाँद्छन् । चालक र सहचालकले यात्रुको ज्यानलाई ख्यालख्यालमा लिँदा चाडबाडमा धेरैको घरमा रुवाबासी चल्ने गरेको छ । यात्रुलाई गुन्द्रुक खाँदेझैं खाँद्ने गरिएकोमा यात्रुको लोडभन्दा धेरै सामानको लोड भएपछि सवारी साधनले भार थाम्न नसक्ने अवस्था पनि उत्पन्न हुने गरेको छ ।  

कानुन उल्लंघन 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०२ मा सीटभन्दा बढी यात्रु राख्न नहुने उल्लेख छ । भनिएको छ,‘यात्रीवाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ताको प्रमाणपत्रमा लेखिएको सीट संख्याभन्दा बढी यात्री राखी चलाउन हुँदैन ।’

त्यस्तै, दफा १०४ ले चालकको पालो फेर्नुपर्ने व्यवस्था गरेको छ । लामो रुटको सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने उल्लेख छ । ‘लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा कम्तीमा दुईवटा चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।’

त्यसैगरी, टिकट नलिई यात्रा गर्नमा प्रतिबन्ध लगाइएको छ । यता, सर्वोच्च अदालतले लामो यातायात सेवामा कम्तीमा दुई जना चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

तर, यातायात व्यवसायीले कानुनको धज्जी उडाउँदै आएका छन् । सरकारले बारम्बार लामो रुटका सवारी साधनमा दुई जना चालक राख्न निर्देशन दिएपनि उनीहरु ‘एउटा कानले सुन्ने र अर्को कानले उडाउने’ गर्दै आएका छन् । सरकारको भनाइ र यातायात व्यवसायीको गराई विपरीत हुँदा यात्रुले त्यसको मूल्य चुकाउनुपरेको छ । 

टाढा–टाढासम्म पनि एउटै चालकले गाडी हुईंकाउने गरेका छन् । चालकलाई निन्द्रा र थकानका कारण सवारी साधन भीरबाट खस्ने वा ठोक्किने गरेको छ । यता, टिकट लिएका यात्रु मात्र हाल्न पाउने व्यवस्था भएपनि सहचालकले बीच बाटोबाट पनि थप यात्रु चढाउने गरेका छन् । 

सडकबारे चालक बेखबर, गाडीको खराब ‘कण्डिसन’ 

दशैंलाई लक्षित गरेर सरकारले हरेक वर्ष रुट परमिट खुला गर्दै आएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने लोकल गाडी यात्रु लिएर विभिन्न जिल्ला जान्छ । काठमाडौंभित्रका सडकमा समेत राम्रोसँग गुड्न नसक्ने सवारी साधन बाहिरको सडकमा कसरी गुड्छन् ? डाँडाकाँडा, खाल्डाखुल्डीमा ती सडक सवारी गुड्नै सक्दैनन् । गाडीको अवस्था पनि ठीक हुँदैन । धेरैजसो गाडीको झ्यालमा सिसा हुँदैन, कुनैको सीट च्यातिएको हुन्छ । 
इन्जिन, ब्रेक, लाइट चेकजाँच नै नगरी सवारी साधनमा यात्रु राखिन्छ । उपत्यकाभित्रका सडकमा सवारी दौडाउने चालकलाई बाहिरी जिल्लाको सडकबारे खासै जानकारी हुँदैन । जसले दुर्घटनालाई मलजल गरिरहेको छ । सरकारले दशैंलक्षित सवारी चेकिङ्ग बढाउने गरेको छ । 

ठाउँठाउँमा प्रहरी खटिएका हुन्छन् । तर, प्रभावकारी रुपमा चेकिङ्ग हुन सक्दा सवारी दुर्घटनामा कमी आउने सकेको छैन। 

यात्रुलाई दुःख दिनमा सरकारकै हात 

यातायात अभियन्ता रामबहादुर थापा सरकारले नै सर्वसाधारणलाई दुःख दिइरहेको बताउँछन् । सरकारको गैरजिम्मेवारीपनका कारण यात्रुले सास्ती खेप्नुपरेको उनको आरोप छ । सरकारले बेलैमा सरोकारवालासँग छलफल गरेर अग्रिम टिकट बुकिङ्ग खुलाउनुपर्ने उनको भनाइ छ । 

‘सरकारले सँधै अग्रिम टिकट बुकिङ्ग खुलाउन ढिलासुस्ती गर्छ । जसले गर्दा यात्रुले दुःख खेप्नुपरेको छ । बेलैमा टिकट खोलिदिने हो भने आफ्नो अनुकुलताअनुसार यात्रु जाँदै गर्थे । पछि यात्रुको चाप कम हुन्थ्यो । दुर्घटना हुने खतरा पनि न्यून हुन्थ्यो । एक साताअगाडि टिकट खोलेर के गर्ने ? टिकट नै पाइँदैन् । यात्रु बढी भाडा तिरेर घर जान बाध्य हुन्छन् । पैसा तिरेर पनि राम्रो सेवासुविधा पाउँदैनन । मुढामा बसेर, ढोकामा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ’,उनले भने ।

के भन्छन् सरोकारवाला ? 

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यस सम्बन्धमा छलफल राख्ने बताए । सरोकारवालासँग छलफल गर्ने तयारी भइरहेको उनले जानकारी दिए । भन्छन्, ‘अहिलेसम्म अग्रिम टिकट बुकिङ्ग खुलाउनेबारे छलफल भएको छैन् । हामी सरोकारवाला निकायसँग छलफल गर्ने तयारीमा छौं । अबको केही दिनमै छलफलका लागि बोलाउँछौं । त्यसपछि टिकट खोल्ने निर्णय हुन्छ ।’

टिप्पणीहरू