बढ्दै अनलाइन ठगी, न्यूनीकरणमा चुनौती
२१ औं शताब्दी उच्चप्रविधिको युग हो । प्रविधि विकासमा दुनियाँले निकै ठूलो फड्को मारिसकेको छ । यसले आम नागरिकको दैनिकीलाई सहज बनाइदिएको छ । मानिसको जीवन सुविधाजनक बन्दै गएको छ । तर, प्रविधिको पहुँचमा वृद्धिसँगै ठगिनेको संख्या पनि बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा देखिएको डिजिटल प्रविधिमार्फत् ठगिएको उजुरीको चाङले त्यसलाई पुष्टि गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोगबाट लाखौं रुपैयाँ ठगेको आरोपमा केही समयअघि एक युवक पक्राउ परे । ह्वाट्सएप, इमो, भाइबरलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई लट्री (चिठ्ठा) पर्यो भन्दै झुक्काएर रकम ठगेका दोलखाको शैलुङ गाउँपालिका–८ घर भई काठमाडौं बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् मानिसहरुलाई फोन र टेक्स्ट गरी आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने र कम्पनीले लट्री कार्यक्रम गरेको जनाउँदै लाखौं रुपैयाँ ठगेका थिए । त्यसैगरी, ब्यूरोले केही महिनाअघि प्रोफाइल ह्याक गरी ठगेको आरोपमा अर्का एक जनालाई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा समातेको हो ।
अर्घाखाँचीको साविकको सन्धिखर्क गाविस–६ घर भएका ३३ वर्षीय कपिल गहतराजले एक महिलाको फेसबुक ह्याक गरेर उनका आफन्त र साथीहरुसँग रकम माग गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३, अपराधअन्तर्गतको कसूरमा कारबाही अघि बढाइयो ।
शैक्षिक संस्थामा भर्नाका लागि सहजीकरण गरिदिने नाम ठगेका तीन युवकलाई ब्यूरोले नियन्त्रणमा लियो । ‘मनास्लु एजुकेशनल सर्भिसेज’ नामको इन्स्टाग्राम एकाउण्टमार्फत पिटीई बुक गरिदिन्छु भन्दै २२ वर्षीय तिरुपति पाण्डे, २० वर्षीय सुवास कँडेल, २० वर्षीया दोमन केसीले धेरैलाई ठगेका थिए । यी त केही उदाहरण मात्र हुन् ।
ब्यूरोमा दिनहुँ साइबर अपराधसम्बन्धी दर्जनौं उजुरी पर्ने गरेको छ । साइबरसम्बन्धी अपराध सरकारलाई नै टाउको दुखाईको विषय बनेको छ । प्रविधिको विकास हुनु सकारात्मक छ । तर, त्यसको प्रयोगभन्दा बढी दुरुपयोग हुँदा समस्या भएको हो ।
प्रविधिसँगै निम्तिएको अपराध न्यूनीकरण तथा रोकथाम गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । सामाजिक सञ्जाल चलाउनेको संख्या बढेको छ तर उनीहरुमा डिजिटल साक्षरताको अभाव देखिन्छ । यसकारण साइबर अपराधको ग्राफ उकालो चढेको हो ।
अनलाइन सपिङ्गको नाममा ठगी
अनलाइन सपिङ्गको नाममा हुने गरेको अपराध पछिल्ला दिनमा ह्वात्तै बढेको छ । हिजोआज अनलाइन सपिङ्गको ‘ट्रेण्ड’ छ । व्यस्तताका कारण अधिकांशले अनलाइनमार्फत सपिङ्ग गर्छन् । तर, अनलाइन सपिङ्गको नाममा सोझासाझीलाई ‘मुर्गा’ बनाउने गैरकानुनी धन्दा चलेको छ । अनलाइन सपिङ्ग गर्दा ठगिएको गुनासो लिएर साइबर ब्यूरो धाउनेको संख्या उच्च छ।
फेसबुक पेजहरुमा लुगा, मोबाइल, जुत्ताहरुको तस्बिर छ्याप्छ्याप्ती भेटिन्छ । कम मूल्यको प्रलोभनमा पर्दा सर्वसाधारण लुटिन्छन् । सामान बुक गरेपछि उनीहरु मोबाइल बैकिङ्गमार्फत पैसा भुक्तानी गरिदिन्छन् । पैसा पाएलगत्तै सो पेजले उनीहरुलाई ‘ब्लक’ गरिदिन्छ । अनलाइनबाट सामान अर्डर गर्दा रकम लिएर सामान नै नपठाएकामा व्यापक उजुरी आउने गरेको ब्यूरोले जनाएको छ ।
यस्ता किसिमको ठगीमा सरकारी कर्मचारीदेखि अधिवक्तासम्म परेका छन् । अनलाइन सपिङ्गका नाममा ठगिने क्रम बढेपछि ब्यूरोले बारम्बार सूचना जारी गरेर सचेत रहन आग्रह गर्दै आएको छ । ब्यूरोले ‘क्यास अन डेलिभरी’ लाई प्राथमिकता दिन पनि सूचित गराएको छ । तर, नपरेसम्म चेत नखुल्ने प्रवृत्तिका कारण ठगिने क्रममा कमी आउन सकेको छैन ।
चिठ्ठा र रोजगारीमा फस्नेको लहड
ठग्नका लागि चिठ्ठा सबैभन्दा सहज माध्यम बनेको छ । ‘तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै म्यासेज पठाएर ठग्ने गरिन्छ । ह्वाट्सएपमा विभिन्न नम्बरबाट लट्री परेको म्यासेज आइरहेको हुन्छ । त्यस्ता भ्रामक लट्रीको पछाडि लाग्दा धेरैले ठूलो धनराशी गुमाउने गरेका छन् । यता, ठगिएको भन्दै प्रहरीकहाँ धाउँदाको दुःख बेग्लै छ । ‘ट्याक्स क्लियरेन्स’ को नाममा ठग्ने गरेको जानकारहरु बताउँछन् ।
विदेशमा आकर्षक जागिर मिलाइदिन्छु भनेर ठगेको भन्दै प्रहरी गुहार्नेहरु यत्तिकै छन् । आफू विदेशमा रहेको र त्यहाँस्थित राम्रो कम्पनीमा जागिर लगाइदिन्छु भनेर लाखौं रुपैयाँ असुलिन्छ । पैसा पाएपछि उनीहरुले आफ्नो सबै ‘कन्ट्याक्ट’ बन्द गरिदिन्छन् । प्रत्यक्ष चिनजानबिना पैसा दिँदा दुःख पाएकाहरु प्रहरी कार्यालयमा प्रशस्तै भेटिन्छन् ।
नक्कली विज्ञापनको बिगबिगी
सामाजिक सञ्जालमा कोठा, जागिर खोजिदिने विज्ञापनहरु छ्याप्छ्याप्ती भेटिन्छन् । पार्ट टाइम जब, फूल टाइम जब, मासिक यति तलब भनेर विज्ञापन हालिएको हुन्छ । सो विज्ञापनमा उल्लेखित नम्बरमा फोन गरेमा उनीहरुले सानोतिनो काम लगाएर केही रकम दिन्छन् । त्यसपश्चात् दोब्बर नाफा हुने प्रलोभन देखाएर लगानी गर्न लगाउँछन् ।
पैसा लिएपछि सम्पर्कमै नआउने उजुरीहरु पनि प्राप्त भएको ब्यूरोले बताएको छ । ब्यूरोले सामाजिक सञ्जालमा भएका नक्कली विज्ञापनबाट बच्न अनुरोध गर्दै आएको छ । यता, कल्पनै गर्न नसकिने मूल्यमा दिइएको आइफोन, मोबाइल फोन, स्मार्ट वार्चहरुको पछाडि नलाग्न पनि सूचित गराएको छ ।
गिफ्टको नाममा लुट
विदेशबाट पार्सल र गिफ्ट पठाइदिएको भन्दै लुट्ने धन्दा पछिल्लो समय व्यापक मौलाएको छ । सुन, मोबाइल फोन पठाइदिएको र भन्सार तिर्नुपर्ने नाममा ठगी गरिन्छ । महँगा गिफ्टको प्रलोभनमा परेर सामाजिक सञ्जाल प्रयोगकर्ताले हतारमा रकम पठाइदिन्छन् । पछि मात्र आफू ठगिएको थाहा पाउँछन् । निःशुल्क विभिन्न विषयको तयारी कक्षा, सेयर कारोबार विश्लेषण तालिम दिने नाममा पनि फसाउने गरिएको छ ।
के भन्छ सरोकारवाला ?
ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी डिजिटल प्लेटफर्ममार्फत् हुने ठगी ह्वात्तै बढेको बताउँछन् । यस्ता उजुरी ब्यूरोमा व्यापक आउने उनको भनाइ छ । अनलाइनमार्फत् हुने ठगीबाट बच्नका लागि उक्त पेजका कन्टेन्टबारे राम्ररी अध्ययन गर्नुपर्ने उनको सुझाव छ ।
‘प्रविधिको प्रयोगमा हुने ठगीबाट जोगिनका लागि प्रयोगकर्ता निकै सचेत हुनुपर्छ । कुनै सामान किन्दैछौं भने पहिले त्यस पेजबारे अध्ययन गर्ने, कमेण्टहरु पढ्ने बानी बसाल्नुपर्छ । कोही ठगिएको छ भने उसले कमेण्टमा लेखेको हुनसक्छ । कुनै पनि सामान बजार मूल्यबाट कममा आउन सक्दैन । सोही सामान बजार मूल्यभन्दा धेरै सस्तोमा दिइरहेको छ भने त्यहाँ शंका गर्नुपर्छ’,उनले भने ।
त्यस्तै, नभरेको वा अप्रत्याशित चिठ्ठा परेको लिंक प्राप्त भएमा खोल्न नहुने ब्यूरोको भनाइ छ । आफ्नो पासवर्ड र ओटिपी पनि कसैसँग सेयर नगर्न सुझाइएको छ । डिजिटल माध्यमबाट हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि विद्युतीय कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ ।
टिप्पणीहरू