भन्सारका कर्मचारीलाई इमान्दारिता देखाउन आग्रह

भन्सारका कर्मचारीलाई इमान्दारिता देखाउन आग्रह
सुन्नुहोस्

भन्सार विभागले राजश्व चुहावट नियन्त्रणमा कठोर बन्न मातहतका कर्मचारीलाई निर्देशन दिएको छ । अर्थ सचिवको उपस्थितिमा शुक्रबार साँझ सम्पन्न दुइदिने भन्सार समीक्षा गोष्ठीमा राजश्व अनुसन्धान र भन्सार विभागका महानिर्देशकले आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । 

गोष्ठीमा कार्य सम्पादनमा इमान्दारिता नदेखाउने कर्मचारीलाई कारवाहीको चेतावनीदेखि उनीहरुले भोग्नु परेका सुरक्षा चुनौतीसम्मको अवस्थाबारे चर्चा भएको थियो । त्यसक्रममा भन्सारकै कर्मचारीको संलग्नतामा राजश्व चुहावट हुने गरेको सम्बन्धमा चिन्तासमेत व्यक्त गरियो । राजश्व हिनामिना नियन्त्रण गर्न सुरक्षा निकायको पर्याप्त भूमिका नरहेको औल्याउँदै भन्सार विभागका प्रमुख हरिशरण पुडासैनीले असन्तुष्टि व्यक्त गरे । 

राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक चण्डीप्रसाद घिमिरेले भन्सार कार्यालयको कार्य सम्पादनमा खोट रहेकोतर्फ स्पष्ट इंगित गर्दै केही दृष्टान्तसमेत सुनाएका थिए । आफूले कार्यभार सम्हालेको तीन हप्ता नपुग्दै भन्सार पास भएका १५ वटा मालवाहक गाडीलाई विभागमा ल्याएर पुनः जाँचपास गर्दा ठूलो परिमाणमा राजश्व छलिएको पाइएको उनले बताए । ती १५ वटा गाडीमाथि अनुसन्धान हुँदा १० वटामा कमजोरी फेला परेको र प्रत्येकमा १० देखि १२ लाख रुपैयाँ राजश्व हिनामिना भएको जनाउँदै घिमिरेले असन्तुष्टि पोखेको गोष्ठीका एक सहभागीले जनआस्थालाई बताए ।  
यसबाट भन्सारमा कतिधेरै बदमासी हुँदोरहेछ भन्ने कुरासमेत प्रष्ट भएको छ । त्यसक्रममा महानिर्देशक घिमिरेले भन्सार जाँचपासमा तत्काल सुधारको खाँचो औंल्याउँदै भने, ‘म कुनै नाकाको किटान त गर्दिन, तर १८ लाख राजश्व तिरेको गाडीबाट पुनः १७ लाख असुली गरेका छौँ ।’

भन्सार विभागले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनको आग्रह थियो, ‘भन्सार सप्रियो भने तपाईं–हामी त्यतिधेरै सक्रिय हुनुपर्दैन । त्यसकारण कर्मचारीले निष्ठापूर्वक राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावले काम गर्नुपर्छ ।’

विभागका महानिर्देशक पुडासैनीले पनि कर्मचारीको भूमिका राजश्व छली नियन्त्रणमा अहम् हुने बताए । कर्मचारीले निर्भिक भई काम गरे राजश्व वृद्धि हुनेमात्र नभई प्रतिष्ठासमेत बढ्नेतर्फ उनले सहभागीहरुको ध्यान आकर्षित गराएका थिए । विगतमा भन्सारका कर्मचारीप्रति रही आएको नकारात्मक सोच बिस्तारै सुधारोन्मुख भए पनि अझै बदनामीबाट मुक्त नभइसकेको उनको भनाई छ । 

‘कुनै कर्मचारीले कमजोरी गरे कसैले पनि बचाउनेवाला छैन’, निर्देशनात्मक शैलीमा उनले भने, ‘व्यापारी र एजेन्टसँगको मिलेमतोमा जाँचपास गरी राजश्व छलीमा सहयोग पुर्याउने कमर्चारीप्रति राज्य कठोर बन्छ ।’ सचेत गराउँदै पुडासैनीले अगाडि भने, ‘इमान्दारीपूर्वक काम गर्दा कसैको दबाब सहनु पर्दैन, म महानिर्देशकको हैसियतले असल कामको बचाउ गर्छु । यसको लागि मन्त्रालय वा जुनसुकै निकायमा जान तयार छु !’

विगतमा कतिपय भन्सार प्रमुख कार्यालयबाटै हराइदिने, सुरक्षा निकाय, सम्बन्धित व्यापारी र आफ्नै कार्यालयका कर्मचारीसँग समन्वयमा नबस्नेजस्ता कमजोरी देखिएको जनाउँदै उनले अबदेखि यस्तो कुरा स्वीकार नहुने स्पष्ट पारे । भन्सार प्रमुखले आफ्नो नेतृत्वमा छुट्टै गस्ती टोली बनाएर नाकाभित्र पर्ने कार्यक्षेत्रमा निगरानी बढाउनुपर्नेमा उनको विशेष जोड थियो । सशस्त्र प्रहरीले अपेक्षाअनुसार काम नगरेकोप्रति इंगित गर्दै उनले उक्त धारणा राखेका हुन् । 

कतिपय अड्डामा कार्यालय प्रमुख निस्क्रिय रहँदा मातहतका अन्य कर्मचारीले नटेर्ने गरेको गुनासा अबदेखि सुन्न नपरोस् भन्दै पुडासैनीले अन्यथा कारबाहीको चेतावनी दिए । उनको भनाई थियो, ‘बदमासी गर्ने कर्मचारीका लागि दुई वर्ष पर्खनुपर्दैन, जतिबेला पनि कार्यालयबाट तानिन्छ ।’ 

कतिपय कार्यालयमा प्रहरी र गैरभन्सार निकायका कर्मचारीले भन्सार परिसरभित्र उपस्थिति देखाएकोमा पनि उनले असन्तुष्टि जनाए । कर्मचारीलाई उच्च पेशागत अनुशासनमा बस्न आग्रह गर्दै सावधानी अपनाएर काम गर्न निर्देशन दिइएको छ । जानाजान गल्ती गर्ने कर्मचारीलाई कारबाही हुने उनले स्पष्ट पारे ।

अर्थसचिव रामप्रसाद घिमिरेले राजश्व चुहावटमा कर्मचारीको संलग्नता ठहर भए छुट नहुने प्रष्ट चेतावनी दिएका थिए । ‘त्यस्तो स्थितिमा तपाईंहरुलाई कसैले जोगाउने छैन  प्रष्ट भए हुन्छ’, सचेत गराउँदै उनले भए । 

गौर, राजविराजलगायतका भन्सार प्रमुखले सुरक्षा चुनौती भोग्नुपरेको सम्बन्धमा पनि गोष्ठीमा चर्चा चल्यो । कतिपय नाकामा प्रमुख जिल्ला अधिकारीहरुबाट भन्सारका काम कारवाहीमा अनावश्यक हस्तक्षेप गरेको विषय पनि उठेको बताइन्छ । बर्दियाका प्रजिअ रुद्रादेवी शर्माले प्याज, आलुलगायतका बस्तु निर्यातका सम्बन्धमा अनावश्यक निर्देशन दिएको चर्चा त्यहाँ चलेको थियो ।

यस सम्बन्धमा जनआस्थाले जिज्ञासा राख्दा रुद्रादेवीले भने आफूले अवैध बस्तु ओसार–पसार रोक्ने सम्बन्धमा मात्रै चासो राखेको दाबी गरिन् ।

टिप्पणीहरू