सर्वोच्च नजल्ने भयो

सर्वोच्च नजल्ने भयो
सुन्नुहोस्

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका लाखौं मानिसको घर भत्काउने गरी नदी किनारको नयाँ मापदण्ड जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह खुशी भएछन् । खुशी हुनु स्वाभाविकै हो । किनभने यति धेरै घर भत्काउनुपर्ने भएपछि फेरि डोजर चलाउन पाइने भयो । डोजर चलाउने भनेपछि मेयर साब हुरुक्कै बन्नुुहुन्छ ।

डोजरसँग उनको के साइनो छ कुन्नि, मेयरमा जितेर आएदेखि डोजर मात्रै चलाएर बसिरहेका छन् । कहिले थापाथलीमा, कहिले बानेश्वरमा, कहिले गौशालामा, कहिले बागबजारमा डोजर चलाएको चलाएकै छन् । मलाई त लाग्छ, मेयर पदमा जितेर आएदेखि उनले महानगरपालिका त चलाउन पाएकै छैन । खालि डोजर मात्रै चलाउन पाएका छन् । कतै डोजर चलाउनुलाई नै महानगर चलाएको भनेर पो सोचिरहेका छैनन् उनी ? शायद उनलाई लाग्दो हो, डोजर चलाउनु भनेकै महानगर चलाउनु हो । त्यसैले डोजर चलाएपछि महानगर चलाउनु पर्दैन । 

अब डोजर चलाउनुलाई नै महानगर चलाउनु हो भन्ठान्ने मेयर भएपछि नगरमा डोजरबाहेक अरु कुनै चल्छ त ? सर्वोच्च अदालतले त उहाँलाई डोजर चलाउने अझ ठूलो मौका दिएको छ । नयाँ मापदण्ड लागू गर्ने हो भने नदी किनारका लाखौं जनताको घर थुन्नुपर्ने हुन्छ । आहा ! बालेनको लागि त नयाँ अवसर भयो यो । यति धेरै घर भत्काउनुपर्ने भएपछि अर्को पाँच वर्ष त घर मात्रै भत्काएर बसे पनि पुग्ने भयो । अर्को कामै गर्नुपरेन । शायद त्यही भएर पनि उनले फैसलाको तत्कालै स्वागत गरेको हुनुपर्छ । उनले स्वागत गरेपछि सर्वोच्च अदालत जल्ने सम्भावना पनि टर्‍यो । कि कसो ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू