अनुभवी भ्रष्टाचारी

अनुभवी भ्रष्टाचारी
सुन्नुहोस्

भर्खरकै कुरा हो, सहकारी बोर्डको सदस्यमा संगीता तामाङ नामकी एक महिला नियुक्त भएकी रहिछन् । नियुक्तिपछि विरोध आयो, उनी त सहकारी ठगी काण्डकै सदस्य रहिछन् । सहकारी ठगीको जालो फैलाउने काममा संगीता तामाङको पनि हात रहेछ । त्यस्तो मान्छेलाई नै सरकारले सहकारी बोर्डको सदस्य नियुक्त किन गर्‍या ? यस्तो पनि गर्ने हो ?

विरोध गर्नेहरूको कुरा सुनेर म चकित छु । कुरै बुझेका रहेनछन् यिनीहरूले । भ्याभ्या गर्ने भेडा जमात भनेका शायद यिनै हुन् । सबैलाई थाहा छ, यतिबेला सरकार सहकारी ठगहरूको सञ्जाल तोड्ने अभियानमा छ । यदि यो अभियानलाई सफल बनाउने हो भने नियुक्ति गर्नुपर्ने वास्तवमा यस्तैलाई हो । किनभने ठगीको जालो फैलाउने आफै भएका कारण यो जालो कहाँसम्म फैलिएको छ भन्ने कुरा उनलाई थाहा छ । जालो तोड्ने हो भने जालोबारे थाहा भएका मान्छे पनि त चाहियो नि ! थाहै छैन भने जालो कसरी तोड्ने ? 

हेर्नोस्, भ्रष्टाचार निवारणै गर्ने हो भने भ्रष्टाचार निवारण गर्ने निकायमा भ्रष्टाचारीलाई नै नियुक्त गर्नु पर्छ । किनभने भ्रष्टाचार कहाँ कहाँ भइरहेको छ भन्ने कुरा भ्रष्टाचारीलाई पो थाहा हुन्छ । जसले भ्रष्टाचारै गरेको छैन उसलाई भ्रष्टाचारबारे कसरी थाहा हुन्छ ? भ्रष्टाचार निवारणको काम गर्न भ्रष्टाचारका अनुभवी मान्छे पनि चाहियो । हामीकहाँ भ्रष्टाचार निवारण हुन नसक्नुको कारणै यही हो । भ्रष्टाचार निवारणको काम त्यस्तो मानिसलाई दिइन्छ जसले जिन्दगीमा भ्रष्टाचार गरेकै छैन । अरे अनुभव भन्ने पनि त कुनै चीज छ नि । त्यस्तो जिम्मा त भ्रष्टाचारको अनुभव भएका मान्छेलाई दिनुपर्छ । अनि उसले गर्छ निवारण । खै कुरा बुझ्या ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू