ओलीको नयाँ अन्तर्वार्ता

ओलीको नयाँ अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा हुनुसम्मको बेइज्जत खपेर भर्खरै नेपाल फर्कनुभयो । वास्तवमा त्यति बेइज्जती कमाउन उहाँ अमेरिका जानै पर्दैन थियो । नेपालमै प्राप्त थियो । तै पनि जानुभयो । कमाउनुभयो । कमाएर फर्किनुभयो । फर्केर आउँदा विमानस्थलमा केही पत्रकार भेटिए । त्यहाँ भएको संक्षिप्त अन्तर्वार्ता यस्तो थियो –

० प्रधानमन्त्रीज्यू, नेपालमा स्वागत छ । न्युयोर्क भ्रमण कस्तो रह्यो ?

– हेर्नोस्, नेपाल त गज्जब देश हो नि ! यता गैंडाज, उता डाँफेज । तल बाघज, माथि हात्तीज । विविधताले भरिएको देश हो नेपाल । यस्तो सांस्कृतिक, प्राकृतिक विविधता संसारमा अन्त पाइँदैन ।

० राष्ट्रपति जो बाइडनसँग के कुरा भयो ?

– अमेरिकामा हाम्रो जस्तो बाटा बाटामा मकै बेचेको पाइनँ । देखेको भए एक दुई घोगा किनेर खान्थेँ । मैले खोजेँ तर देखिएन । बालेनले हटाइदिया हो कि जस्तो पनि लाग्यो । 

० मोदीसँगको भेट कस्तो भयो ?

– अचेल मलाई प्लेन चढ्न पनि गार्‍हो भइसक्यो । निद्रा लागेर हैरान । राधिकालाई पनि गाह्रो भयो । उमेर गए जस्तो लाग्यो । 

० अमेरिकामा नेपालीहरू नै तपाइँविरुद्ध उत्रेका रहेछन्, यसमा के भन्नुहुन्छ ?

– रामको जन्मभूमि अयोध्या होइन, नेपालको माडी हो । अब माडीलाई पनि प्रचार गर्नुपर्छ । हामी यसबाट टसमस हुन सक्दैनौं । 

० हस् त प्रधानमन्त्रीज्यू, हामी गयौँ ।

– आलोपालोको सरकार हो । म कोहीसँग डराउनेवाला छैन ।
 

टिप्पणीहरू