विदेशमा रहेका माओवादी नेताहरु पेरिसडाँडाको बैठकमा

विदेशमा रहेका माओवादी नेताहरु पेरिसडाँडाको बैठकमा

नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको जुम बैठकमा केन्द्रीय पदाधिकारी, विभिन्न मुलुकमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी भएको बताइएको छ । 

दुई दिनसम्म चल्ने बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको धारणा राख्नुभएको छ । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ’, उहाँले भन्नुभयो ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’ 

बैठकमा सहभागीहरुको धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय समिति बैठकको तयारीस्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । जसअन्तर्गत सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय आयोगहरुको बैठक सम्पन्न भइसकेको छ । 

अब केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने सो पार्टीको तयारी छ ।

टिप्पणीहरू