स्कुले विद्यार्थीको पुस्तक र खाजामा हेडसर र जनप्रतिनिधिको गिद्देनजर

स्कुले विद्यार्थीको पुस्तक र खाजामा हेडसर र जनप्रतिनिधिको गिद्देनजर
सुन्नुहोस्

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालयले मनोमानी गरेको आरोप लागेको छ । उक्त विद्यालयले जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक अध्यापन गराउनुपर्नेमा मनोमानी गर्दै अन्य पाठ्यपुस्तक प्रयोग गरेको बताइन्छ । विद्यालयले निजी प्रकाशन गृहका पुस्तक विद्यार्थीमाथि थोपरेको अभिभावकहरु बताउँछन् । 

विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा निजी प्रकाशन गृहका पाठ्यपुस्तक विद्यार्थीहरूलाई पढ्न बाध्य पारिएपछि स्थानीयले विरोध जनाएका छन् । चन्द्रपुर नगरपालिकामा कक्षा १ देखि १२ कक्षासम्म जनक शिक्षा सामग्री केन्द्रका पाठ्यपुस्तक पठनपाठन गराइन्छ । तर चन्द्रपुर १ को गोपालकुटी माध्यमिक विद्यालयले भने कमिसनको लोभमा एक निजी प्रकाशन गृहको पाठ्यपुस्तक विद्यार्थीहरूलाई थोपरेको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिको कमिसन मोहका कारण यतिबेला उक्त विद्यालयका विद्यार्थीहरू अन्यत्रको भन्दा फरक पुस्तक पढ्न बाध्य भएका हुन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले सो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । 

 स्थानीय वासिन्दाले शिक्षा शाखा प्रमुख मण्डलकै मिलोमतोमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले मोटो कमिसनको लोभमा निजी कम्पनीका किताबहरू विद्यार्थीको हातमा थमाएको भन्नेमा अधिकांश स्थानीय छन् । यसबारे स्थानीय अभिभावक मौन बसेको भन्दै स्थानीय देव भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

विद्यालयले प्रचलित नीति र नियम विपरीत नगरपालिकाको मिलेमतोमा विद्यार्थीका लागि भाडाको बस सञ्चालन गर्दै आएको छ । नियमानुसार भाडाको बस सामुदायिक तथा निजी विद्यालयहरूले सञ्चालन गर्न नपाउने ऐनमा स्पष्ट व्यवस्था छ । नगरका दर्जनौं विद्यालयलाई पालिकाले वास्ता नगरेपनि गोपालकुटी विद्यालयले सञ्चालन गरेका भाडाका बसमा भने नगरपालिकाले इन्धन हालिदिने गरेको पाइएको छ ।  

पछिल्लो समय गोपालकोटी माध्यमिक विद्यालयलाई भ्रष्टहरूले अखडा बनाएको  जनाउँदै स्थानीयस्तरमा चर्को आलोचना भएकोे छ । केही समय पहिले गरिएको विद्यालय रङरोगनमा समेत व्यापक आर्थिक अनियमितता भएको बताइन्छ । 

सामुदायिक विद्यालयहरूको अवस्था सुधार गर्दै लैजानुपर्नेमा गोपालकुटीमा भने शिक्षाको अवस्था दिन प्रतिदिन खस्कँदै गएको स्थानीयको बुझाई छ । यसबारे वडा नम्बर १ का वडाध्यक्ष बलराम राउत सम्पर्कमा आउन चाहेनन् । विद्यालयमा बढ्दो आर्थिक अनियमितता र शिक्षकहरूको मनोमानीका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा पर्न थालेकोमा स्थानीय अभिभावक चिन्तित देखिन्छन् ।

यता जिल्लाको वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले विद्यार्थीको दिवा खाजाको रकम भुक्तानीको समयमा घुस लिने गरेको बताइन्छ । राज्यले प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाको रकम उपलब्ध गराउँदै आएको छ । सोही रकम एकमुष्ट एक वर्षमा निकासा गर्ने क्रममा हरेक विद्यालयसँग वृन्दावन नगरपालिकाका मेयरदेखि हाकिमसम्मले कमिसन लिएर मात्र भुक्तानी दिने गरेको आरोप छ । 

लक्ष्मीनाथ वासुदेव प्राथमिक विद्यालय वृन्दावन २, धनगढीका प्रधानाध्यापक रम्बुप्रसाद यादवले उक्त कुरा बाहिर ल्याएका छन् । विद्यार्थीहरूले खाएको दिवा खाजाको पैसा निकासा गर्ने बेलामा विद्यालयका प्रधानाध्यापक यादवसँग वृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजेललाई दिनुपर्ने जनाउँदै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपेन्द्र महतो मार्फत् पाँच लाख कमिसन दिइएको प्रधानाध्यापक यादवले उल्लेख गरेका हुन् ।

विद्यालयले एक वर्षसम्म विद्यार्थीलाई दिवा खाजा खुवाएको १० लाखको बिल नगरपालिकामा पुगेको थियो । सोही १० रकमबाट पाँच लाख आफूले शिक्षा शाखा प्रमुख मार्फत् नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई दिएको उनले बताएका हुन् । विद्यालयको खातामा दिवा खाजा वापतको १० लाख रुपैयाँ जम्मा हुनुपर्नेमा आधा मात्र जम्मा भएपछि त्यसबारे बुझ्न विद्यालय पुगेका वडाध्यक्ष सिकेन्द्र पटेललाई प्रधानाध्यापक यादवले वास्तविकता खुलाएका हुन् ।

प्रधानाध्यापक यादवले वडाध्यक्षसँग कुराकानी गर्दै मेयर, प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखलाई १० लाखमध्ये पाँच लाख रुपैयाँ कमिसन दिएको भनिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । वृन्दावन नगरपालिकामा २० वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयले वर्षमा मुश्किलले तीन महिना दिवा खाजा खुवाउने गरेको बताइन्छ । वडा नम्बर २ का वडाध्यक्ष सीकेन्द्र पटेलका अनुसार बाँकी नौ महिनाको रकम भागबण्डा लगाउने गरेका हुन् ।

यतिखेर वृन्दावन नगरपालिकामा जुन कामको लागि पनि कमिसन दिनुपर्ने बाध्यता आइपरेको पटेल बताउँछन् । कुर्मी प्रमुखमा निर्वाचित भएयता नगरपालिका चर्को विवादमा आउन थालेको हो । प्रमुख कार्यकारी अधिकृत खिमलाल भुजेलले शुभ नगरपालिकामा भएको आफ्नो सरुवा रोक्न अनेक खेलोफड्को गरेकोसमेत चर्चा छ । वृन्दावनमा अन्यत्रभन्दा आम्दानी धेरै हुने भएकाले प्रमुख कार्यकारी सरुवा रोक्न अग्रसर भएको नेकपा माओवादीका मेयर प्रत्यासी रामप्रसाद पटेलको दाबी छ ।

टिप्पणीहरू