यसकारण असुरक्षित ‘दशैँ यात्रा’ को आकलन

यसकारण असुरक्षित ‘दशैँ यात्रा’ को आकलन
सुन्नुहोस्

हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैँ आउन मुश्किलले दुई साता बाँकी छ । हरेक वर्ष दशैँ लागेपछि काठमाडौं उपत्यकाबाट मात्र २० देखि २५ लाख सर्वसाधारण आफ्नो थातथलो पुग्ने गरेका छन् । 

तर, यतिखेर मुलुकभरका राजमार्ग र सडकको दुरावस्थालाई हेर्दा ‘दशैँ यात्रा’ सहज र सुरक्षित हुने अवस्था देखिँदैन । अर्कोतर्फ, बर्खायाम नसकिएकाले ती सडक तत्काल मर्मत हुने अवस्था पनि छैन । 

त्यसैले यो वर्ष पनि दशैँमा घर फर्किने यात्रुले ठूलो सास्ती व्यहोर्नुपर्ने निश्चित छ । दशैँमा विभिन्न शहरमा बसेकाहरु आफ्नो गाउँघर फर्किने भएकाले सडकमा ठूलो संख्यामा यात्रु र सवारी साधनको आवागमन हुन्छ । 

टिका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तव्यबाट अर्को गन्तव्य पुग्ने भएकाले अन्य समयभन्दा सवारीमा यात्रुको चाप स्वतः बढ्ने गर्छ । यद्यपि, ती यात्रुको सुरक्षा गर्नु सरकारको दायित्व पनि हो । 

तर, धेरै सवारीसाधनमा लाखौंको संख्यामा यात्रु चलायमान हुने बेला आइसक्दा पनि सरकारी पक्ष भने गम्भीर बनेको पाईंदैन ।

अहिले पूर्वपश्चिम राजमार्गका विभिन्न सडकखण्डदेखि बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायत सडकखण्डमा निकै ठूलो पहिरो खसेको छ भने खाल्डाखुल्डी तथा भ्वाङ पनि उत्तिकै देखिन्छन् । मुलुकभरका ग्रामीण सडक र राजमार्गको अवस्थालाई हेर्दा यो वर्ष पनि सर्वसाधारणले आफ्नो ज्यान जोखिममा राखेर दशैँ यात्रा गर्नुपर्ने अनुमान सहजै गर्न सकिन्छ । 

दशैंँ ‘दशा’ बनेका केही घटना

पछिल्ला केही वर्ष दशैँ धेरैको निम्ति ‘दशा’ बन्यो । दशैँमा परिवारसँग रमाउन हिँडेकाहरु बीच बाटोमै अस्ताएका अनगिन्ती घटना छन् । वर्षेनी दशैँमा सडकको दयनीय अवस्थाका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाएका हुन् ।

गत वर्ष दशैँको महाअष्टमीको दिन पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका छ जनाको ज्यान गयो । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६, रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती, आफन्त ५५ वर्षीया चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल, नाती ११ वर्षीय सोविस लोहनीसहित साढे दुई वर्षका अर्का एक बालकको पनि दुर्घटनामा निधन भएको थियो । 
दुर्घटनामा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भए । उनी मृतक कृष्णबहादुरका छोरा समेत हुन् । केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका ईश्वर आफ्ना आमाबुबा र आफन्तसहित घुमघामका लागि रानीमहल निस्किएका थिए । 

तर, वर्षायामका कारण सडक बिग्रिएको र मर्मत समेत नभएको हुँदा जीप तानसेन नगरपालिका–१३, बैकुन्ठेभीर सडकखण्डबाट झण्डै एक सय मिटर तल खसेर बराङदी खोलाको खोँचमा झरेको थियो । उक्त दुर्घटनाको एक दिनअघि दाङको बंगलाचुलीमा दशैँको किनमेल गर्न बजार जाँदै गरेको एकै परिवारका पाँच जना सवार अटो दुर्घटना हुँदा एक महिलाको निधन भयो । बंगलाचुली गाउँपालिका–५, झेलखोल निवासी ५५ वर्षीया विवा बुढामगरको ज्यान गएको थियो ।

२०७८ असोज २६ गते फूलपातीका दिन मुगुमा भएको बस दुर्घटनामा दुई दर्जन बढीको ज्यान गएको थियो । ४५ जना यात्रु सवार बस भिरालो कच्ची सडकबाट झण्डै दुई सय मीटर तल खस्दा ३२ जनाको निधन भएको थियो । 

उता कास्कीको पोखरामा भएको जीप दुर्घटनामा आठ जनाको निधन हुँदा एक जनाको भने ज्यान जोगिएको थियो । सडकको दयनीय अवस्था, थोत्रा, पुराना सवारीसाधन र कोचाकोच यात्रुका लागि दशैँले दशा नित्याउने गरेको विगतका घटनाले पुष्टि गर्छ ।

दशैँअघि सडक मर्मत भइसक्ने विभागको दाबी 

सडक विभागका महानिर्देशक रामहरि पोखरेल दशैँअघि सडकको खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताउँछन् । उनले भने, ‘असोज १० गतेभित्र सबै सडकका खाल्डाखुल्डी पुर्न हामीले परिपत्र गरिसकेका छोँ ।’ 
यद्यपि, निरन्तरको वर्षाका कारण दशैँअघि सडकका सबै खाल्डाखुल्डी पुरिनेमा विभागका अधिकारीहरु नै ढुक्क देखिँदैनन् । महानिर्देशक पोखरेलका अनुसार वर्षाका कारण सडक मर्मतमा समस्या भएको छ । ‘आज खाल्डो पुर्यो, आजै पानी पर्दा फेरि खाल्डो बन्ने हुँदा काम प्रभावित भइरहेको छ,’ उनले भने ।  

मुलुकभर ६ सय १८ वटा ग्रामीण सडक तथा राजमार्ग छन् । त्यसमध्ये बाढी, पहिरो तथा अन्य विविध कारणले नौ वटा सडक तथा राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ ।सञ्चालनमा रहेका ६ सय ९ सडक तथा राजमार्गमा पनि तीन सय २८ एकतर्फी र दुई सय ८१ वटा मात्रै दुइतर्फी सुचारु छन् ।

किन हुन्छ दशैँमा सवारी दुर्घटना ? 

पछिल्ला केही वर्षयता दशैँको समयमा सवारी दुर्घटना उच्च हुनु सामान्य भइसकेको छ । प्रत्येक वर्ष दशैँ नजिकिएसँगै सवारी दुर्घटनाको क्रम बढ्ने गरेको छ । राजमार्गमा मात्र नभई ग्रामीण सडकमा पनि उत्तिकै दुर्घटना हुने गर्छ । 

विशेषगरी दशैँ मनाउन घरपरिवार र आफन्तकोमा हिँडेका वा बिदा मनाउन पर्यटकीय गन्तव्य पुग्न हतारिएका यात्रुहरु दुर्घटनाको शिकारमा पर्ने गरेका छन् । तर, दशैँमा बढ्ने दुर्घटना न्यूनीकरणका लागि सरकारले हालसम्म कुनै ठोस उपाय बनाएको छैन । 

दुर्घटना न्यूनीकरणका लागि सरकार न कुनै कार्ययोजना बनाउँछ न त यातायात व्यवसायीलाई थोत्रा, पुराना गाडीमा यात्रु खाँद्नबाट रोक सक्छ । दशैँमा दुर्घटना बढ्नुमा विभिन्न कारण रहेको सडक सुरक्षाविद्हरु बताउँछन् । 
उनीहरुको भनाइमा यो बेला यातायात व्यवसायीहरुले उच्च आम्दानी गर्ने सिजनको रुपमा लिइन्छ । यसका साथै धेरै कमाउने धुनमा एउटै गाडीले पटकपटक ट्रिप गर्छन् । यसले गाडीको सिट क्षमताभन्दा बढी यात्रु र तीव्र गतिका कारण दुर्घटना निम्तिने गरेको उनीहरुको बुझाई छ । 

अर्कोतर्फ, सरकारले समयमै टिकट बुकिङ्ग नखोल्दा पनि दशैँमा सवारी दुर्घटना बढ्ने गरेको यातायात अभियन्ता प्रेमबहादुर थापा बताउँछन् । उनी दशैँमा सवारी दुर्घटना बढ्नुमा सरकार र यातायात व्यवसायीलाई दोषी ठहराउँछन् । 

सरकारले समयमै दशैँका लागि टिकट बुकिङ्ग नखोल्नु र यातायात व्यवसायीहरुले चाडबाडमा समेत थोत्रा, पुराना, कबाडी सवारीसाधनमा गुन्द्रकझैँ यात्रु खाँदेर बोक्दा दुर्घटना निम्त्याउने गरेको अभियन्ता थापाको ठहर छ ।

‘दशैँमा सबै नागरिक आफ्नो थातथलो जानुपर्ने हुन्छ । यस्तो अवस्थामा एक महिना पहिल्यै टिकट बुकिङ खोलिएमा यात्रुलाई पनि सास्ती हुदैँन । तर, हाम्रो त दशैँ शुरु हुनु एक हप्ता अघि मात्र टिकट खोलिन्छ,’ अभियन्ता थापा भन्छन्, ‘टिकट खोलिएको दुई दिनमै सकिन्छ । यसले यात्रुहरु सवारीभित्र गुन्द्रकझैँ खाँदिएर जान बाध्य छन् । अनि दुर्घटना नभए के हुन्छ ?’

यो वर्षको दशैँ शुरु हुन १५ दिन मात्र बाँकी रहेपनि अहिलेसम्म सरकारले अग्रिम टिकट खुलाउने सुरसार नगरेको भन्दै उनले थपे, ‘यो वर्ष पनि दशैँ धेरैका लागि दशा बन्नसक्छ ।’ चाडपर्वको समयमा चल्ने सवारीसाधनको प्राविधिक चेकजाँच गर्नुपर्ने पनि उनले बताए । 

साथै, थोत्रा, पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अभियन्ता थापाको माग छ । ‘दशैँमा हुने सवारी दुर्घटनाका विविध कारणमध्ये थोत्रा गाडी एक हो । सरकारले त्यस्ता सवारी सञ्चालनमा रोक लगाउनुपर्छ,’ उनले भने । 

हरेक वर्ष चाडबाड नजिकिँदा सवारी दुर्घटना बढ्ने र दुर्घटनामा निर्दोष सर्वसाधारणले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले दुर्घटना न्यूनीकरणका लागि सरकारले कुनै कदम नचालेकोमा आक्रोशसमेत पोखे । 

‘दशैँमा सवारी दुर्घटना बढ्नु पनि एउटा नियमित श्रृंखला नै भइसकेको छ । तर, यसको न्यूनीकरणका लागि कुनै कदम चालेको पाईंदैन । दुर्घटना हुन्छ, केही समय त्यसले चर्चा आउँछ अनि फेरि सेलाउँछ । किनभने मर्ने त सर्वसाधारण हुन् नि त,’ अभियन्ता थापाले भने ।

टिप्पणीहरू