अर्थतन्त्र सुध्रेको सरकारको दाबी, सन्तुष्ट नरहेको निजी क्षेत्रको भनाइ

अर्थतन्त्र सुध्रेको सरकारको दाबी, सन्तुष्ट नरहेको निजी क्षेत्रको भनाइ
सुन्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा सुधार हुन थालेपनि निजी क्षेत्र सन्तृष्ट भएर बस्ने अवस्था नरहेको बताएका छन् । निजी क्षेत्रलाई उकास्न नीति, नियममा थप संशोधन आवश्यक रहेको उनले उल्लेख गरेका छन् । 

अख्तियारलगायत नियामक निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने ? भन्ने विषय प्रष्ट हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रमाथि अनावश्यक नियमनले लगानीकर्ता निरुत्साहित हुने बताए । उनले भने, ‘हामीले कार्यकाल शुरु गरेलगत्तै अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुने गरि नै छलफल भइरहेको छ । अब उपसमितिको राय के आउँछ ? यसमा हामी सबै चनाखो हुनुपर्छ । हाम्रो निरन्तरको प्रयासले यो हाललाई रोकिएको छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ । यदि कानुन जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुनेछ ।’

उनले युवा, महिला एवम् साना तथा मझौला उद्यमीको प्रवद्र्धनमा महासंघले विशेष पहल गरिरहेको पनि बताएका छन् । साथै, महासंघले मस्यौदा गरेको स्टार्टअप नीतिसमेत पारित भएको अध्यक्ष ढकालले बताए ।

‘महासंघले मस्यौदा गरेको स्टार्ट अप नीति पारित भएको छ । कानुनमा स्टार्ट अपको परिभाषा आएको छ,’ उनले भने, ‘तीन वर्षदेखि निरन्तर स्टार्ट अप नेसन कार्यक्रम आयोजना गरी प्रवद्र्धन र पैरवी गरिरहेका छौ ।’

उनले कैलालीमा सरकारसँगको सहकार्यमा छिट्टै इन्कुवेसन केन्द्र स्थापना गरिने जानकारी दिँदै साना मझौला उद्यमीका लागि एसएमइ विकास केन्द्र महासंघमा स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिए । यसको प्रभावकारी सञ्चालनका लागि तयारी गरिरहेको अध्यक्ष ढकालले जनाएका छन् । 

‘महासंघलाई सेन्टर अफ एक्सिलेन्सका रुपमा पनि विकास गर्ने हाम्रो योजना छ । जस अन्र्तगत, एफएनसिसिआइ लर्निग सेन्टर र एफएनसिसिआइ इनोभेटर्स क्लब स्थापना गर्ने तयारी छ,’ उनले भने । आगामी डेढ वर्षभित्र महासंघको कम्तीमा ७० प्रतिशत काम डिजिटल गर्ने प्रयास भइरहेको जनाउँदै उनले केही समयपछि बिजनेस इन्टिलिजेन्स सिस्टम पनि सार्वजनिक गर्ने बताए । 

अध्यक्ष ढकालका अनुसार यो सिस्टम एसिया फाउण्डेसनको सहकार्यमा बनाइएको हो । यसले महासंघका पाँच लाखभन्दा बढी सदस्यको डाटावेस राख्ने र रियल टाइम रिसर्च गर्ने क्षमता छ ।

टिप्पणीहरू