पत्रकार महासंघको ढोकामा अध्यक्ष र महासचिव हराएको सूचना

पत्रकार महासंघको ढोकामा अध्यक्ष र महासचिव हराएको सूचना
सुन्नुहोस्

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनि महासंघको कार्यालयमा ब्यानर टाँगिएको छ । ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो । 

भदौ २९ गतेदेखि दुबैजना हराएको उल्लेखित ब्यानरमा उनीहरुलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ । ‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिनदेखि हराएको । भेट्नुहुने महानुभावहरुले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ’, ब्यानरमा लेखिएको छ । 

महासचिव पुरीले उक्त ब्यानर टाँस्नेबारे कुनै जानकारी नभएको बताए । उनका अनुसार केही बेरअघि उक्त ब्यानर हटाइएको छ । ‘ब्यानर कसले टाँस्यो, थाहा भएन् । आज त्यो ब्यानर हटाएका छौं । ताला खोल्ने विषयमा छलफल भइरहेको छ । आजै ताला खुल्ने सम्भावना छ’,उनले भने । 

तीनपटक स्थगित भइसकेको महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको छ । तर, सदस्यता वितरणलाई लिएर अहिलेसम्म पनि विवाद कायमै छ ।

टिप्पणीहरू