सरकारी पुलमा नगरपालिकाको शुल्क

सरकारी पुलमा नगरपालिकाको शुल्क
सुन्नुहोस्

दुर्गम जिल्लामा पुल तर्न पैसा असुल्ने गरिएको यदाकदा सुनिन्छ । कतिपयले भोगेका पनि छन् । तर, राजधानीमै पुल तर्न शुल्क लिने गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुल तर्ने सर्वसाधारणसँग पैसा उठाउने गरेको छ । 

वडा नम्बर ९ र १० को बीचमा निर्मित पुल तर्न नगरपालिकाले प्रतिव्यक्ति २० रुपैयाँ उठाएपछि व्यापक विरोध भएको छ । सरकारी बजेटमा बनाइएको पुल तर्न पैसा लिइएको भन्दै सर्वसाधारणले नगरपालिकाको आलोचना गरेका छन् । 

साँगास्थित शिव भगवान्को मन्दिरनजिकै नगरपालिकाले ‘लुटको धन्दा’ चलाएको सर्वसाधारणको आरोप छ । बनेपाकी शान्ता थपलियाले पुल तर्न पैसा लिएकोमा असन्तुष्टि जनाइन् । महादेव मन्दिरको दर्शन गर्न पुगेकी उनले भनिन्, ‘यो त अति भयो, लुट्ने पनि हद हुन्छ । भगवानको मन्दिरनजिकै दिनदहाडै लुटतन्त्र चलेको छ । पुल तर्न २० रुपैयाँ लिइन्छ ।’

नगरपालिकाले झोलुङ्गे पुल तर्न २० रुपैयाँ उठाउने गरेको विषय सामाजिक सञ्जालमा पनि चर्चित बनेको छ । पुल तर्न पैसा लिएकोमा आपत्ति जनाउँदै सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियो भाइरल भएको छ । शुल्क उठाउन खटाइएकी कर्मचारीसँग ती महिलाको बाझाबाझ नै भएको देखिन्छ ।

उनी भन्छिन्, ‘पुल तरेको २० रुपैयाँ कसरी ? नगरपालिकाले बनाएको होइन यो ? सरकारी बजेटमा बनेको पुल होइन ? सरकारी बजेटमा बनेको पुलमा नगरपालिकाले कसरी पैसा उठाउन मिल्छ ? यो त अति नै भयो । पुल तरेको पनि २० रुपैयाँ लिइन्छ ? यो लुटतन्त्र चाँहि अति भयो । गणतन्त्रमा एउटा पुल तरेको २० रुपैयाँ तिर्नुपर्ने ? कतिसम्म लुटतन्त्र हो यो । बनिसकेको पुल त्यो पनि ठेक्कामा दिएको रे । सरकारी बजेटमा बनेको पुलमा २० रुपैयाँ तिरेर पुल तर्नुपर्ने रे ।’

शिव भगवानको नाममा सर्वसाधारणलाई लुटेको भन्दै उनले नगरपालिकाको विरोध गरेकी छन् । भन्छिन्, ‘शिव भगवानको नाममा यहाँ लुटतन्त्र चलिरहेको छ । म त शिव भगवानको दर्शन गर्न आएको । त्यहाँ हेर्नु त एउटा डस्टबिन छैन् । फोहोर भीरबाट खसालिरहेका छन् । अनि पुल तर्न २० रुपैयाँ ।’

यता, त्यहाँका कर्मचारी भने ‘नगरपालिकालाई गएर सोध्नु’ भन्दै रन्किन्छन् । उक्त भिडियोमा प्रतिक्रियाको ओइरो लागेको छ । एक जनाले लेखेका छन्, ‘अचम्म लाग्यो पुल तरेको नि पैसा लाग्ने भए मान्छे यताउता नगएर बसिरहनुपर्ने भो । दिनमा कतिपटक काम पर्छ होला अनि पैसा तिरेर हिँडिरहने अनि पैसा नहुनेले त काम पर्दा नि पुल तरेर जानै नपाउने भए, कस्तो लाजमर्दो छ्या ।’

त्यस्तै, अर्कोले भनेका छन्, ‘यो त लुटतन्त्र नै हो, सरकारी बजेटमा बनेको पुलमा पनि शुल्क लाग्ने हुन्छ र भन्या ।’ सामाजिक सञ्जालमा भेटिएको छ, ‘नेपालको नेता र सरकारको दिमागमा ठेक्का र कमिसनबाहेक अरु केही छैन पढेको भएपो देशको विकासको बारेमा ज्ञान हुनु, पढ्ने उमेरमा ढुंगा हान्ने र नाराजुलुसको आधारमा नेता–कार्यकर्ता बने । अनि देशको बिजोग भयो ।’

उक्त पुललाई ‘सूर्योदय मोड साँगा झोलुङ्गे पुल’ नामाङ्कन गरिएको छ । पुल वारपार गरेको शुल्क उठाउने ठेक्का रविचन्द्र कन्स्ट्रक्सनलाई दिइएको छ । सरकारी बजेटमा बनेको पुल तरेको पैसा उठाउन निजी कम्पनीलाई ठेक्कामा दिएपछि स्थानीयले विरोध जनाएका छन् । 

नगरपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद नेपालका अनुसार पुल तरेको पैसा उठाउन थालिएको दुई वर्ष भएको छ । दुई वर्षसम्म त्यहाँ निःशुल्क ओहोरदोहोर गर्न दिइएको उनले बताए । आन्तरिक र वाह्य पर्यटक खचाखच हुन थालेपछि पैसा उठाउन शुरु गरिएको उनले बताए । 

‘नगरपालिकाले पहिले पैसा उठाउँदैन्थ्यो । तर, पर्यटक बढ्न थालेपछि पैसा उठाउन थालेका हौं । त्यहाँ पुलको आवश्यकता नभएपनि नगरपालिकाले निर्माण गर्यो । पुलले नगरपालिकाको आम्दानी बढेको छ । मान्छेले एक कप चियाको ४० रुपैयाँ हालेर खान सक्छ, २० रुपैयाँ तिर्न सक्दैन ? नगरपालिकाले न्यूनतम शुल्क राखेको हो’,उनले भने । 

त्यस्तै, ९ र १० का स्थानीयलाई नागरिकताका आधारमा निःशुल्क पुल तर्न दिइने उनले बताए ।

भिडियाेश्राेत : सामाजिक सञ्जाल

 

टिप्पणीहरू