प्रदेश सदस्यको आत्मसमर्पणलाई ‘नौटंकी’ को संज्ञा

प्रदेश सदस्यको आत्मसमर्पणलाई ‘नौटंकी’ को संज्ञा
सुन्नुहोस्

सरकारी कागजात किर्तेमा दोषी ठहर भएका प्रदेश सभा सदस्य धनबहादुर केसीले सजाय भुक्तान नगरी सफाई पाएपछि रुकुम पूर्वका स्थानीयले न्यायालय र प्रहरी प्रशासनमाथि नै प्रश्न उठाउन थालेका छन् । एक वर्ष कैद सजाय सुनाइएका रुकुम पूर्वबाट निर्वाचित लुम्बिनी प्रदेशका वर्तमान सांसद केसी एक लाख नौ हजार दुई सय रुपैयाँ तिरेर रिहा भएका थिए ।

लामो समय ‘फरार’ रहेका उनी विवादित छबिका व्यक्ति हुन् । उनीमाथि अवैध तरिकाले बेरोजगार युवालाई विदेश पुर्याएको आरोप लाग्दै आएको छ । नेपालबाट दुबई हुँदै ल्याटिन अमेरिकाको स्थलमार्गबाट अमेरिका लैजाने काममा केसीको संलग्नता रहेको स्थानीय युवाको दाबी छ । 

उनीहरुका अनुसार उक्त कार्यमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उनका भतिज असई राजु केसी र नातामा ज्वाइँ पर्ने टिकाराम खनाललगायतले सहयोग पुर्याएका हुन् । धनबहादुर विगतमा बोलिभियामा बसेका थिए ।

बेपर्वाह सम्पत्ति भएका उनी नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । निर्वाचनताका ‘एक भोट, एक घर, एक सदस्य अमेरिका’ को नारा लगाइएको स्थानीयले सुनेका थिए । विशेष सुरक्षा घेरामा बस्ने गरेका उनी अदालती नजरबाट लामो समय जोगिएका हुन् । 

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र अदालतको ‘फरार’ सूचीमा रहेको व्यक्ति सांसद बनेपछि गम्भीर प्रश्न उठाइएको थियो । चुनावी प्रचारप्रसारका क्रममा उनलाई कुनै प्रशासनिक रोकतोक भएन । भदौ अन्तिम साता रुकुम जिल्ला अदालतमा आत्मसमर्पण गरेपनि सजायको भागिदार बन्नुपरेन । देखाउनका लागि प्रहरी प्रशासनको आडमा उनले आत्मसमर्पणको नौटंकी रचेको रुकुमबासीको आरोप छ ।

टिप्पणीहरू