विषादी : बढ्यो आयात, घट्यो प्रयोग
बढ्दो जनसंख्यासँगै खाद्यान्नको अत्यधिक मागका कारण कृषि उत्पादन बढाउन पछिल्लो समय विश्वका अधिकांश मुलुकमा विषादीको प्रयोग तीव्र गतिले बढिरहेको छ । नेपालमासमेत यसको आयात बढ्दो क्रममा देखिएको छ । केही वर्षयता व्यावसायिक रुपमा बढी उत्पादन गराउन र रोग तथा किराबाट बाली जोगाउन तरकारीसहित विभिन्न खाद्य वस्तुमा विषादीको प्रयोग गरिएको पाइन्छ ।
यसको प्रयोगबाट मानव स्वास्थ्यमा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिएको घटनाहरु पनि बेलाबखत बाहिरिने गरेका छन् । केही समयअघि गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको खबर बाहिरियो ।
गाउँपालिकाका पाँच दर्जनबढी किसानमा क्यान्सर र एक दर्जन बढीको मिर्गौला फेल भएको समाचार सार्वजनिक भएपछि कृषिमन्त्री रामनाथ अधिकारीले सोसम्बन्धमा अध्ययन गर्न समिति नै गठन गरियो । अहिले समितिले आवश्यक अध्ययन गरिरहेको छ । स्वस्थ्य खाना नै स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । स्वस्थ्य खानाले मानिस धेरै रोगबाट बच्न सक्छ ।
तर, यतिबेला तरकारी र फलफूलमा प्रयोग गरिएका हानिकारक विषादीले आम सर्वसाधारण विभिन्न रोगको सिकार हुन पुगेका छन् । शुरुमा फसल जोगाउन प्रयोग गरिने कीटनाशक औषधिहरु अहिले फलफूल छिटो पकाउन र तरकारीको उत्पादन बढाउने कार्यमा प्रयोग गरिएको छ । यस्ता विषादीले उपभोक्तामा मात्र नभएर कृषकहरुकै स्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको छ ।
विषादीको सुरक्षित रुपमा प्रयोग गर्न नजान्दा कृषकहरुमा पनि गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ । विषादीको प्रयोगले मानवमा तत्काल र दीर्घकालिन असर पार्छ । रिंगटा लाग्ने, पक्षघात आक्रमण, थकाई महशुस हुनु, होश हराउनु, टाउको दुख्नु, बान्ता हुनु, छाति दुख्नु, छालामा फोका आउनु, आँखा रातो र धमिलो देखिनु यसका तत्कालका असर हुन् ।
त्यस्तै, दीर्घकालीन असरमा क्यान्सर, ट्युमर, श्वासप्रश्वाससम्बन्धी रोग, स्नायु तथा नसाजन्य रोग, जन्मजात अपांगता हुनुका साथै बाँझोपन, कलेजोमा खराबी, शारीरिक विकासमा असर वा मानसिक असन्तुलन समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
विषादी आयातमा साढे तीन सय कम्पनी
एकातिर ‘विषादी विष हो’ भन्दै यसको निरुत्साहनका लागि सरकारी तवरबाट अभियान चलाईँदा अर्कोतिर विषादी आयातका लागि सरकारले नै अनुमति दिएको पाइन्छ । हाल मुलुकमा नौ समूहका विषादी पञ्जीकरण गरिएको छ । यसको नियन्त्रणका लागि स्थापित प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार तीमध्ये सात समूहका विषादी आयात गरिन्छन् ।
त्यसमा कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, झारनाशक, शंखेकीरानाशक, मुसानाशक र जैविक विषादी पर्छन् । यता, विषादी आयात गर्नकै लागि केन्द्रमा साढे तीन सय कम्पनी दर्ता भएका छन् । १९ हजारबढी वितरक छन् । ती वितरकमार्फत् एग्रोभेट हुँदै विषादी किसानको बारीसम्म पुगिरहेको छ ।
कहाँ कहाँ हुन्छ विषादी परीक्षण ?
सरकारले २०७६ असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो । सीमामा विषादी परीक्षण गर्ने नीतिविरुद्ध भारतले आपत्ति जनाएपछि तत्कालीन समयमा सो निर्णय कार्यान्वयन गर्नबाट सरकार पछि हट्यो ।
त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो । सर्वोच्चले विषादी परीक्षण यथास्थितिमा राख्न आन्तरिम आदेश दिएसँगै सोही वर्षदेखि उक्त निर्णय कार्यान्वयनमा गएको हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागले आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आइरहेको छ ।
विभागले १२ वटा भन्सार बिन्दुमा आयातित तरकारी तथा फलफूलको ‘आरबीपीआर’ विधिबाट विषादी अवशेष परीक्षण गर्ने गरेको छ । विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयसहित काकडभिट्टा, वीरगञ्ज, भैरहवा, धनगढी, विराटनगर, रानी, जलेश्वर, नेपालगञ्ज, रसुवा, कृष्णनगर र महेन्द्रनगर नाकामा विषादी परीक्षण हुँदै आएको छ ।
विषादी आयात बढेपनि प्रयोग घटेको सरकारी दाबी
केही वर्षयता मुलुकमा विषादीको आयात बढ्दै गएको छ । पछिल्लो दुई वर्षमा कीटनाशक विषादी झण्डै ७५ लाख किलो भित्रिएको केन्द्रीय भन्सार विभागको तथ्याङ्कले देखाउँछ । गतवर्ष मात्र १७ लाख १७ हजार ३२५ रुपैयाँ बराबरको ३५ लाख ८५ हजार ६२० किलो कीटनाशक विषादी आयात भएको थियो ।
सोही अवधिमा सात लाखबढी मूल्य बराबरको फङ्गीसाइड १५ लाख ३९ हजार ४७४ किलो र झण्डै सात लाख रुपैयाँ बराबरको हर्बिसाइड १२ लाख ९६ हजार ६९० किलो आयात भएको विभागले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १७ लाख ७९ हजार ५९१ रुपैयाँ बराबरको ३९ लाख ४८ हजार ६६२ किलो कीटनाशक विषादी आयात भयो ।
सोही वर्ष फङ्गीसाइड १० लाख ८० हजार ५४ किलो र हर्बिसाइड चार लाख ४६ हजार ३५३ केजी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा मात्र १५ लाख १८ हजार १५९ केजी कीटनाशक विषादी मुलुकमा भित्रिएको छ । सोको मूल्य चार लाख २६ हजार ९७० रुपैयाँ रहेको छ । यही अवधिमा फङ्गीसाइड चार लाख ४६ हजार ८८५ किलो र हर्बिसाइड एक लाख ४७ हजार ४३६ केजी आयात भएको भन्सार विभागले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल पनि पछिल्लो समय विषादीको आयात बढेको बताउँछन् । उनका अनुसार बालीनालीमा नयाँ प्रजातिका रोग र किरा देखिनुले पनि विषादीको आयात बढेको हो ।
‘विषादीको आयात बढ्दो रहेको हाम्रै तथ्याङ्क छ । यस्तो हुनुमा विभिन्न कारण पनि छन् । अहिले मकै बालीदेखि अधिकांश खेतपातीमा समेत विषादीको प्रयोग गर्ने गरिएको छ,’ उनले भने, ‘बालीमा कुनै पनि समस्या देख्नेबित्तिकै यसको प्रयोग गरिन्छ । यो क्रम बढ्दो छ ।’ व्यावसायिक रुपमा बढी उत्पादन लिनका लागि रोग तथा किराबाट बाली जोगाउन र तरकारी फ्रेस राख्नसमेत विषादीको प्रयोग हुने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत पोखरेल बताउँछन् ।
यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने तरकारी तथा फलफूलमा विषादीको प्रयोग घटेको जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार गत वर्ष आयातित तरकारी तथा फलफूलमा कम विषादी देखिएको थियो । उनका अनुसार गत आर्थिक वर्षमा विभागले १२ वटा भन्सार बिन्दुमा तरकारी तथा फलफूलका ६३ हजार बढी नमूनाको विषादी अवशेष परीक्षण गरेको थियो । आरबीपीआर विधिबाट परीक्षण गर्दा जम्मा ३७ वटा नमूना प्रतिकूल भेटिएको उनले बताए ।
‘यो अघिल्लो वर्षभन्दा कम हो । यसले विषादीको प्रयोग घटेको देखिन्छ । तर, हामीसँग पर्याप्त उपकरण नभएकाले सबै विषादीको परीक्षण हुन नसक्दा पनि यो घटेको हुनसक्छ,’ प्रवक्ता महर्जनले भने । यस्तै, आन्तरिक तरकारी र फलफूलको विषादी परीक्षण गर्दै आएको केन्द्रिय कृषि प्रयोगशालाले पनि विषादीको प्रयोग घटेको जनाएको छ ।
प्रयोगशालाअन्तर्गत सात संघीय कृषि थोक बजारमा रहेको विषादी द्रुत विश्लेषण प्रयोगशाला इकाइबाट गतवर्ष आठ हजार पाँच सय ७५ नमुना परीक्षण भएकोमा ७६ वटा नमूना मात्र प्रतिकूल वा उपभोग अयोग्य देखिएको जनाइएको छ । त्यस्तै, २६ वटा नमुना क्वारेन्टिन गर्नुपर्ने प्रयोगशालाको रिपोर्टमा उल्लेख छ ।
टिप्पणीहरू