विपत्तिमा हवाई कम्पनीद्वारा असुलीधन्दा,चर्को विरोधपछि तीन दिनलाई ‘होल्ड’

विपत्तिमा हवाई कम्पनीद्वारा असुलीधन्दा,चर्को विरोधपछि तीन दिनलाई ‘होल्ड’

अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । अस्ति र हिजो परेको मुसलधारे वर्षातका कारण गएको बाढीपहिरोले मुलुकभर ठूलो धनजनको क्षति भएको छ । 

नेपाल प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म एक सय ६३ जनाको ज्यान गइसकेको छ । त्यस्तै, ५७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दशैँको मुखमा मुलुकभर बाढीपहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा भने दोब्बरले महँगिएको छ । विभिन्न स्थानमा गएको बाढीपहिरोले देशभरका मुख्य राजमार्गसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । 

अहिले काठमाडौं उपत्यकामा आउजाउ गर्नका लागि हवाई यातायातको विकल्प छैन । स्थल यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरुले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, यही मौका छोपेर आन्तरिक विमान कम्पनीहरुले हवाई भाडा ह्वात्तै बढाएका छन् । 

यात्रुहरुको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरुले पहिलेको भन्दा दोब्बर भाडा असुलेको भनी सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

यति एयरलाइन्सले काठमाडौंदेखि विराटनगरसम्मको हवाई भाडा नौ हजार नौ सय रुपैयाँ तोकेको छ । जबकि यसअघि पाँच हजार पाँच सय रुपैयाँमा टिकट पाइन्थ्यो ।

यति एयरलाइन्सले काठमाडौंदेखि विराटनगरसम्मको हवाई भाडा नौ हजार नौ सय रुपैयाँ तोकेको छ । जबकि यसअघि पाँच हजार पाँच सय रुपैयाँमा टिकट पाइन्थ्यो । 

मुलुकको आन्तरिक उडानमा सबैभन्दा महँगो हवाई भाडा काठमाडौंदेखि धनगढीको हो । यो गन्तव्यमा जान अन्य समयमा सात हजार नौ सय रुपैयाँसम्म लाग्थ्यो । 

तर, अहिले धनगढी जाने हवाई भाडा काठमाडौंबाट भारतको दिल्ली जानभन्दा महँगो रहेको पाइएको छ । काठमाडौंबाट दिल्ली पुग्न ११ हजार २८२ रुपैयाँ लाग्दा धनगढीको हवाई भाडा १७ हजार १० रुपैयाँ रहेको छ । 

दशैँको मुखमा हवाई कम्पनीहरुले भाडादर चर्को बनाउँदा गाउँघर जाने यात्रुहरु मर्कामा परेका छन् । विपद्को समयमा राहत दिनुको साटो एयरलाइन्सहरुले उल्टै मनलाग्दी भाडा बढाएको र सरकार समेत निरीह बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा एक जना प्रयोगकर्ताले लेखेका छन्, ‘बाढीपहिरोले सडकको अवस्था दयनीय छ । तर, हवाई कम्पनीहरुलाई यस्तो विपद्को अवस्थामा पनि जनता लुट्न परेको छ । अनि सरकार कहाँ छ ? देशमा नाम मात्रको सरकार भएको हो ?’ 

त्यस्तै,अर्काले भनेका छन्, ‘काठमाडौंबाट धनगढी १७ हजार । काठमाडौंबाट नयाँ दिल्ली ११ हजार । सडक यात्राको अवस्था यस्तो भयावह छ । अति आवश्यक रुपमा यात्रा गर्नुपर्यो भनेपनि अर्को विकल्प भनेको हवाई यात्रा हो । तर, नेपालका हवाई यातायातको भाडा लगभग दोब्बर गरिएको छ । जुन यात्रा गर्न सबैको हिम्मत हुन्न । यो समय लुट्ने होइन जुट्ने हो, सम्बन्धित निकायको ध्यानाकर्षण होस् र यो विषयमा सरोकारवालाहरुको समन्वय भई दुःख अनि चाडपर्वका बेला गरिबले पनि आफ्नो यात्रा तय गर्न पाउन् !’

सामाजिक सञ्जालमै भेटिएको छ, ‘हवाई कम्पनीले भाडा दोब्बर बनाए । पटकपटक लेखेकै हो ! बोलेकै हो ! यो देशको अर्थतन्त्रको प्रमुख समस्या लाइसेन्सिङ्ग र सिण्डिकेट हो । हरेक ठाउँमा भयावह छ । अमेरिकाको जस्तै अत्यन्तै कडा कानून नबनाई यसको समाधान हुदैँन ।’

‘दशैँ नजिकिदैँछ तर विपतले गर्दा अहिले सबै जना पीडामा छन् । धेरै जनाको घरबार उठेको छ । धेरै जना बाढी र पहिरोका कारण नोक्सानी व्यहोर्न बाध्य बनेका छन् । सडक मार्ग देशभर नै प्रभावित छ । अब उपत्यका बाहिर जाने अधिकांश नागरिकहरु हवाई मार्ग रोज्न बाध्य छन् । तर,देश यस्तो विकराल प्राकृतिक विपत्तिमा फसिरहँदा आज हवाई क्षेत्रका निजी कम्पनीहरुले हवाई भाडा रेट उच्च बनाएछन् । यो देशमा विपत्ति आइरहँदा हवाई कम्पनीहरुले अझ फ्लाइट दोब्बर गरी न्यूनतम रेटमा सेवा प्रवाह गर्नुपर्ने बेलामा भाडा बढाएर भद्दा मजाक गरेका छन् । सेवामुखी बनेर राज्यलाई सघाउनुपर्नेमा नाफामुखी बनेर नागरिकलाई टिकट किन्नैपर्ने बाध्यतामा पारेका छन्,’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । 

अमेरिकाबाट प्रधानमन्त्रीको यस्तो आग्रह

यसवीच अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले यात्रुसँग बढी भाडा नलिन एयरलाइन्सहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विपत्तिको समयमा यात्रुसँग पहिलेभन्दा सहुलियत मूल्य वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका हुन् । 

‘लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरुलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ । नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानका लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ,’ उनले लेखेका छन् । 

विरोधपछि तत्काललाई महँगो भाडा स्थगित 

विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बेचेको भन्दै चर्को विरोध भएपश्चात् वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले तत्काललाई हवाई टिकटमा अधिकतम शुल्क नलिने निर्णय गरेको छ । 

संघको आज बसेको बैठकले आगामी तीन दिनसम्म हवाई टिकटमा अधिकतम शुल्क नलिने निर्णय गरेको हो । यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायत शुल्कमा छुट गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू