नाम ‘मिनरल वाटर’, मूल्य ‘मनपरी’

नाम ‘मिनरल वाटर’, मूल्य ‘मनपरी’
सुन्नुहोस्

नेपाली समाजमा भन्ने गरिएको छ, ‘प्यास लागेकालाई पानी दिएमा धर्म हुन्छ ।’ घरमा आएका कुनै पनि व्यक्तिलाई अरु केही दिन नसकेपनि पानी पिउन दिएमा धर्म वा पुण्य कमाइन्छ भन्ने हाम्रो समाजमा मान्यता छ । तर, पछिल्लो समय खानेपानीलाई नै ठगीको माध्यम बनाइएको छ । ‘मिनरल वाटर’ को नाममा जथाभावी मूल्य तोकेर सर्वसाधारण ठगिएको छ । 

किराना पसलदेखि ठूला होटल, रेष्टुरेन्टसम्मले पानीको बोटलको आफुखुशी मूल्य तोक्ने गरेका छन् । सरकारले निर्धारण गरेभन्दा कयौं गुणाबढी मूल्यमा व्यापारीहरुले पानी बेचबिखन गरेको पाइन्छ । यद्यपि, चाडपर्वको समयमा मात्र सम्बन्धित निकायले बजार अनुगमनमा तदारुकता नदेखाउँदा सर्वसाधारण ठगिएका हुन् ।

आमनागरिक एक बोतल पानीको ५० देखि झण्डै पाँच सय रुपैयाँसम्म तिर्न बाध्य छन् । जबकी सरकारले एक लिटर बोतल पानीको १६ रुपैयाँ मूल्य तोकेको छ । ‘ब्राण्डिङ’ नाममा व्यापारीहरुले उपभोक्ताबाट पानीको दोब्बर मूल्य असुलिरहेका छन् । यसले कतिपय अवस्थामा तिर्खा लागेको समयमा पैसा नहुँदा पानी पिउनबाट समेत वञ्चित हुनुपर्ने अवस्था निम्तिएको छ ।

ठूला रेस्टुरेन्टमा पानी महँगो 

काठमाडौं उपत्यकामा सञ्चालित ठूला होटल तथा रेष्टुरेन्टमै मिनरल वाटरको मूल्य आफुखुशी तोकिएको पाइएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सरकारले निर्धारण गरेकोभन्दा दोब्बरदेखि तेब्बर बढी मूल्यमा पानी बेचबिखन गरेर उपभोक्ता ठगेको भेटिएको हो । 

पानीको महँगो मूल्य लिएको जनगुनासोपछि बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली अस्ति काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटल पुग्यो । अनुगमनमा क्रममा होटलले एक बोतल पानीको चार सय ३० रुपैयाँ लिएको पाइयो ।

विभागका अनुसार होटलमा रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य र नापतौलमा पनि हेरफेर गरिएको, म्याद गुज्रिएको सामान बेचबिखन गरेको भेटिएको थियो । ३० रुपैयाँको मिनरल वाटर चार सय ३० रुपैयाँमा बेच्ने याक एण्ड यति होटललाई विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

यसअघि तोकिएकोभन्दा बढी मूल्यमा मिनरल वाटर बेचेपछि शान्तिनगरस्थित जिम्बु थकाली पनि कारबाहीमा परेको थियो । उक्त रेष्टुरेन्टले ३५ रुपैयाँको मिनरल वाटरलाई एक सय रुपैयाँसम्म असुलेको पाइएपछि विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको हो । 

यता, बबरमहलस्थित बसेरा होटलले पनि अधिकतम् खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बेचबिखन गरेको छ । केही समयअघि विभागले गरेको अनुगमनको क्रममा तोकिएभन्दा बढी मूल्यमा पानी बिक्री गरेको भेटिएपछि उक्त होटललाई तीन लाख रुपैयाँ जरिवाना गराइएको थियो । 

दूषित पानी पनि त्यत्तिकै 

अचेल पानी महँगो मात्र नभई गुणस्तरहीनसमेत भेटिन थालेको छ । विशेषगरी मिनरल वाटर र जारका पानी दुबै गुणस्तरहीन तथा दूषित फेला पर्न थालेको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाले झण्डै एक दर्जन ब्राण्डका पानी बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

फिकल कोलिफर्म भेटिएको ११ वटा ब्राण्डका पानी बेच्न रोक लगाइएको छ । उपभोक्ताको व्यापक गुनासोपछि महानगरले विभिन्न स्थानबाट २१ वटा ब्राण्डका पानीको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा परीक्षणका लागि पठाएको थियो । 

पठाइएका २१ मध्ये ११ वटा फिकल कोलिफर्म अर्थात् मानव पा पशुको दिसा पिसाबमा पाइने जिवाणु भेटिएको छ । महानगरले कोलिफर्म भेटिएको पञ्चरत्न गु्रप, अक्वा एसएनएस वेभरेज, उत्तरवाहिनी फुड एण्ड वेभरेज, अक्वा सुन्दरी उद्योग, स्तुपा इन्डष्ट्री, मुनलाइट स्प्रिङ मिनरल वाटर, अक्वा कपन एमके मिनरल वाटर, कोशी मिनरल उद्योगलगायत कम्पनीलाई कारबाहीस्वरुप दुई÷दुई लाख रुपैयाँ जरिवाना पनि तिराएको छ । 

यसअघि अल्का त्रिदेव ब्राण्डको जारको पानीमा पनि कोलिफर्म फेला परेपछि उत्पादक कम्पनी जाम्बुलिङ्ग ग्रुप इण्डष्टट्रीलाई कारबाही गरिएको थियो । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित उक्त कम्पनीद्वारा उत्पादित ‘अक्वा त्रिदेव’ ब्राण्डको जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरले दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । 

विभागमा पुगेका अधिकांश उजुरी पानीकै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अधिकांश उजुरी पानीकै आउने गरेको जनाएको छ । विभागका प्रवक्ता डिकबहादुर कार्की अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा पानी बेचबिखन गरिएको जनगुनासो बढ्दो क्रममा रहेको बताउँछन् । 

उनले भने, ‘पानी जीवन हो । यसलाई अत्यावश्यकीय वस्तु मानिएको छ । तर, केही समययता पानीमै उपभोक्ता ठगिएका छन् । अहिले विभागमा एमआरपीभन्दा बढी मूल्यमा पानी बेचबिखन गरेको भन्दै उजुरी आउने क्रम बढ्दो छ ।’

प्रवक्ता कार्कीका अनुसार ठूला होटल, रेष्टुरेन्टमै एमआरपीभन्दा बढी मूल्यमा पानी बेचबिखन गरेर उपभोक्तालाई ठगिएको भेटिएको छ । होटल, रेष्टुरेन्टहरुले ब्राण्डिङको नाममा महँगो मूल्यमा पानी बेचबिखन गर्ने गरेको पाइएको छ ।

त्यस्तै, कतिपय पानी उत्पादक कम्पनीले सरकारले तोकेको मूल्य एमआरपीमा नराखी आफुखुशी उल्लेख गर्ने गरेको पनि उनी बताउँछन् । त्यस्ता उद्योगीलाई सचेत गराउनुका साथै कारबाहीसमेत गर्दै आएको प्रवक्ता कार्कीले बताए । 

‘एमआरपीभन्दा बढी मूल्यमा पानी बेचबिखन गरेमा जस्तो पनि उद्योगी, होटल, रेस्टुरेन्टलाई कारबाही हुनेछ । कसैले पनि एमआरपीभन्दा बढीमा पानी बेचबिखन गर्न पाउँदैनन्,’ उनले भने, ‘यदि कँही कतै एमआरपीभन्दा बढी मूल्यमा पानी बेचबिखन भइरहेको भएमा आम नागरिकले विभागमा सूचना वा उजुरी दिन सक्छन् ।’ 

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था छ ।

तर, विभिन्न पानी उत्पादकहरुले होटल, रेष्टुरेन्टसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बजारमा पठाउने गरेको भन्दै विभागले त्यस्ता कार्य नगर्न समेत चेतावनी दिएको छ ।

टिप्पणीहरू