बालुवाटारमा सांसद पक्राउ, भाटभटेनी छेउमा कार्यकर्ताको नाराबाजी

बालुवाटारमा सांसद पक्राउ, भाटभटेनी छेउमा कार्यकर्ताको नाराबाजी

रवि लामिछाने रिहाइको माग गर्दै सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीसहित ढेड दर्जन कार्यकर्ता पक्राउ परेका छन् । 

आज प्रदर्शनको क्रममा बालुवाटारको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई समातेको हो । सांसद चौधरीसहित सो पार्टीको काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ सभापति वीरेन्द्र श्रेष्ठ, झापा सभापति सुरेश पोख्रेल, सिन्धुपाल्चोक सभापति ध्रुव ढकालसहित १८ जना पक्राउ परेको बताइएको छ । 

बालुवाटारस्थित नेपाल हाउसको आँगनबाट समातिएका उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको छ । 

बालुवाटारमा प्रहरीले प्रदर्शन गर्न नदिएपछि प्रदर्शनकारीको समूह अहिले नक्साल, भाटभटेनीस्थित पिपलबोट अगाडि नाराबाजी गरिरहेका छन् । त्यसक्रममा उनीहरुले ‘केपी चोर, देश छोड्’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘केपी ओली पाराले, दु:ख पाए सारा’ले जस्ता नारा लगाइरहेका छन् ।

टिप्पणीहरू