भाइटीका सकिँदै,तिहार बिदा भोलिसम्म
भाइटीकाको समापनसँगै यो वर्षको तिहार पर्व सकिँदै छ । टीकाको साइत आज बिहान ११ः३७ बजे थियो । तर कतिपयले आफ्नो आवश्यकताअनुसार त्यसअघि र आज रातिसम्म टीका लगाउँदै छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहान शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट तिहारको टीका लगाउनुभयो । राष्ट्रपति पौडेललाई बहिनीहरूले शीतल निवासमा टीका लगाइदिनुभएको हो ।
त्यसैगरी बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल,कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभयो । यसरी नै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट देउवा निवास बूढानीलकण्ठमा भाइटीका लगाउनुभयो ।
सोही स्थानमा देउवापत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भाइहरुलाई टीका लगाउनुभयो । काष्ठमण्डपमा सँधै झैँ यो वर्ष पनि सामूहिक भाइटीका लगाइयो । अञ्जली मास्केले दिदी वा बहिनी नहुनेलाई सामूहिक रूपमा टीका लगाउनुभएको हो । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको संख्या पनि उल्लेख्य थियो ।
आज रातिदेखि यो वर्षको तिहार पर्व सकिए पनि सरकारले भोलि एक दिन तिहार बिदा दिएको छ । भोलि सबै सरकारी कार्यालय बन्द हुने छन् ।
टिप्पणीहरू