ठेकेदारी प्रथाको आज पनि चर्को विरोध

ठेकेदारी प्रथाको आज पनि चर्को विरोध

नेपाल टेलिकमका सरसफाई श्रमिकले कार्यालय बाहिर प्रदर्शन गरेका छन् । आफूहरुलाई कामबाट हटाइएको विरोधमा कात्तिक १२ गतेदेखि आन्दोलित श्रमिकहरुले प्रदर्शनलाई आज पनि निरन्तरता दिएका हुन् । 

बबरमहलस्थित टेलिकमको केन्द्रीय कार्यालयबाहिर झण्डै दुई दर्जन प्रदर्शनकारी धर्नामा बसेका थिए । उनीहरुले ‘ट्रेड युनियनको अधिकारको ग्यारेण्टी गर’,‘संविधानप्रदत्त मौलिक हकको सुनिश्चित गर’,‘श्रम कानुन कार्यान्वयन गर’,‘श्रमिकमाथि गरिएको विभेद र श्रम शोषण बन्द गर’,लगायतको प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् । 

टेलिकममा विगत २३ वर्षदेखि कर्मचारीको रुपमा कार्यरतलाई बिना जानकारी सेवाबाट निष्कासन गरिएको उनीहरुको आरोप छ । आफूहरुलाई हटाएर टेलिकमले न्यून पारिश्रमिकमा कर्मचारी भर्ना गरेको निष्कासित श्रमिक सावित्रा चौलागाईंले बताइन् । 

उनका अनुसार आन्दोलनका क्रममा टेलिकमले प्रहरी दमन गरेको छ । ‘कात्तिक १२ गते हामीहरुले बृहत प्रदर्शन गर्यौं । टेलिकमले प्रहरी बोलाएर हामीमाथि कुटपिट गर्यो । धेरै साथीहरुलाई चोटपटक लागेको छ । हामीलाई बिना जानकारी निकालियो । हामीले १७ हजार रुपैयाँ तलब खान्थ्यौं, तीन हजार रुपैयाँ सामाजिक सुरक्षाबापत काटिन्थ्यो । अहिले निकै न्यून पारिश्रमिकमा कर्मचारी भर्ती गरिएको छ’,उनले भनिन् ।

टिप्पणीहरू