नगर प्रहरीकाे गुप्ताङमा ताकेर हान्ने जनप्रतिनिधिको खोजी जारी
नगर प्रहरीमाथि भएको आक्रमणको घटनाका दोषी पहिचान नहुँदा पोखरा महानगर प्रहरी बल तनावमा परेको छ । हिजो महानगर कार्यालय परिसरमा प्रवेश गरेर नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार गर्ने व्यक्ति नभेटिएपछि उनीहरु हैरानीमा परेको बताइन्छ ।
आज दिनभर खोजी गर्दा पनि आक्रमणकारी पत्ता नलागेको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेपछि त्यसको विरोधमा हिजो एमाले जनप्रतिनिधिसहित केही कर्मचारीले महानगर कार्यालयमा धर्ना दिएका थिए ।
नगर प्रहरी बलले मेयर र उपमयेर कार्यालयमा उपस्थित नरहेको भन्दै उनीहरुलाई रोक्न खोज्दा धकेलाधकेल भएको थियो । सोही क्रममा केसीमाथि आक्रमण भएको थापाले बताए ।
उनका अनुसार हुलमुलमा कसले आक्रमण गर्यो ? भन्नेबारे अझैसम्म खुल्न सकेको छैन । जनआस्थासँग भने, ‘हामीले पटक पटक सिसिटिभी फुटेज हेर्यौँ, तर कसले हान्यो त्यो भने देखिएको छैन । भीडको कारण हान्ने व्यक्ति ठम्याउनै सकिएको छैन । त्यही पत्ता लगाउन आज दिनभर खटियौं, तर सकिएन ।’
गुप्ताङ्गमा प्रहार भएपछि ठाउँको ठाउँ ढलेका नगर प्रहरी केसीलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । एक्सरेपछि उनको अण्डकोषमा चोट लागेको देखिएको र उपचारपछि अस्पतालबाट हिजो राति नै डिस्चार्ज भएका थिए ।
चिकित्सकले केसीलाई केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् ।
टिप्पणीहरू