गोदावरीका क्रसर उद्योगलाई कर तिर्न ताकेता

गोदावरीका क्रसर उद्योगलाई कर तिर्न ताकेता

ललितपुरको गोदावरी नगरपालिकाले खानी तथा क्रसर उद्योगहरुलाई 'प्राकृतिक स्रोत उपयोग कर' तिर्न निर्देशन दिएको छ  

नगर क्षेत्रभित्र सञ्चालित त्यस्ता उद्योगलाई कर भुक्तानी गरी संस्था नवीकरण गर्न नगरपालिकाले ताकेता गरेको हो । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ बमोजिम बुझाउनुपर्ने रोयल्टी र स्थानीय विकास शुल्क बुझाई आगामी ३५ दिनभित्र अनुमतिपत्र तथा व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न नगरपालिकाको सूचनामा भनिएको छ । 

‘खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ बमोजिम बुझाउनुपर्ने रोयल्टी, स्थानीय विकास शुल्क आदि शुल्क नियमानुसार बुझाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस नगरपालिकाको उद्योग तथा सहकारी शाखामा अनुमतिपत्र तथा व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ । 

तोकिएको समयावधिभित्र कर भुक्तानी गरी नवीकरण नगरेमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने नगरपालिकाको चेतावनी छ । त्यस्तै, नवीकरण गर्न आउँदा उद्योग, फर्म, कम्पनीसँग सम्बन्धित सम्पूर्ण कागजात अनिवार्य रुपमा ल्याउनुपर्ने जनाइएको छ ।
 

टिप्पणीहरू