भाडा नघटेसम्म मेनपावर व्यवसायीले टिकट नकाट्ने

भाडा नघटेसम्म मेनपावर व्यवसायीले टिकट नकाट्ने

हवाई कम्पनीहरुले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेपछि वैदेशिक रोजगार व्यवसायी संघले श्रमिक पठाउन रोक्ने चेतावनी दिएको छ । 

संघले आज विज्ञप्ति जारी गर्दै नियमित भाडादर कायम नहुँदासम्म टिकट नकाट्ने चेतावनी दिएको हो । नेपालबाट दैनिक १५ सय श्रमिक वैदेशिक रोजगारीमा मलेसिया, कतार, कुवेतलगायत देशहरु जाने गरेकोमा अन्तर्राष्ट्रिय उडान भरिरहेका एयरलाइन्स कम्पनीहरुले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि गरेको संघले बताएको छ ।

‘अन्तर्राष्ट्रिय उडान भरिरहेका एयरलाइन्स कम्पनीहरुले अस्वभाविक रुपमा एकतर्फी (नेपालदेखि गन्तव्य मुलुकसम्म) चर्को हवाई भाडा वृद्धि गरेका कारण बाध्यतावश वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अत्यन्त मर्कामा परेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल र छिमेकी देश भारतलगायत देशबाट जाने सोही गन्तव्यसम्म जानभन्दा काठमाडौंबाट जाँदा तीन गुणाभन्दा बढीसम्म हवाई भाडा तिर्नुपरेको छ ।’

छिमेकी मुलुक भारतको नयाँ दिल्ली, बंगलादेशको ढाकालगायतका शहरबाट दुबई, दोहा, रियाद, कललम्पुर जाँदा लाग्ने भन्दा काठमाडौंबाट ती गन्तव्यको भाडा महँगो रहेको सन्दर्भमा थप भाडा बृद्धिले यात्रुहरु मर्कामा परेको संघले जनाएको छ । नियमित ३०-३५ हजारको टिकट बढेर ७०-८० हजारसम्म पुगेको भन्दै संघले नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरुको मनोमानीले यात्रुहरु चर्को भाडा तिर्न बाध्य भएको बताएको छ । 

‘टिकटको कृत्रिम अभाव खडा गरी काटेलीङ गरेकै कारण न्यून आय भए श्रमिकहरुले नियमितभन्दा तीन गुणा हवाई भाडा तिर्न बाध्य भएको हाम्रो संघको ठम्याई छ,’ संघले भनेको छ, ‘यसरी नै काटेलिङ गरी चर्को भाडाअसुली गरिरहने हो भने बाध्य भई सम्पूर्ण व्यवसायीहरु नियमित भाडादर कायम नहुँदासम्म कामदार पठाउन र टिकट किन्न रोकी कामदार पठाउन स्थगित गर्ने जानकारी गराउँदछौं ।’

काटेलीङ गरी चर्को मूल्यमा हवाई भाडा किन्न बाध्य पारिएकोबारे छानबिन गरी यस्ता कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन समेत संघले माग गरेको छ । 

त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय घटाएपछि वायुसेवा कम्पनीले काठमाडौं उडानमा कटौती गरेका छन् । 

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि विमानस्थल आजदेखि आगामी चैत १८ गतेसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म दैनिक दश घण्टा बन्द गरिदैँछ । यसले अन्तर्राष्ट्रिय उडानमा व्यापक कटौती हुँदा त्यसको प्रत्यक्ष असर हवाई भाडामा परेको छ ।

टिप्पणीहरू