भारतीय सीमा सुरक्षा प्रमुख नेपाल आउँदै

भारतीय सीमा सुरक्षा प्रमुख नेपाल  आउँदै

भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक नेपाल आउन लागेका छन् । दुई महिनाअघि मात्र सो पदमा नियुक्त अमृत मोहनप्रसादको नेतृत्वमा नौ सदस्यीय टोली चार दिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

केही समयअघि रोकिएको भ्रमण अहिले हुन लागेको हो । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निम्तोमा आउन लागेका अमृत मोहनप्रसादको टोलीले मंसिर १ गते औपचारिक भेटवार्ता गर्ने छ । 

मंसिर २ गते घुमघाम र भोलिपल्ट पुनः बैठकपछि मंसिर ३ गते साँझ नयाँ दिल्ली फर्कने भ्रमण तालिका बनाइएको छ । श्रीमतीसहित आउन लागेका एसएसबी प्रमुखको टोलीलाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको बुझिएको छ । 
 
भ्रमण र बैठकबारे सोधिएको जिज्ञासामा गृह सचिव गोकर्णमुनि दवाडीले भने, ‘खासै त्यस्तो प्रमुख एजेण्डा छैन । दुबै पक्षले अनुभव आदानप्रदान गर्ने छन् ।’ अमृत मोहनप्रसादलाई भारत सरकारले गत सेप्टेम्बरमा महानिर्देशकमा नियुक्त गरेको थियो।

सशस्त्र सीमा बल भारतको गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सशस्त्र प्रहरी बल हो । यसलाई नेपाल र भुटानसँगको भारतीय सिमाना हेर्ने जिम्मेवारी दिइएको छ । यो बल सन् १९६३ मा सकिएको चीन–भारत युद्धपछि भारतीय सीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन विशेष सेवा ब्यूरोका नाममा गठन गरिएको थियो ।

टिप्पणीहरू