त्यागी र साहसी नेताको ११० औं जन्मजयन्ती, रानीपोखरीमा विशेष कार्यक्रम
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । गणेशमान सिंह स्मृति प्रतिष्ठानले राजधानीको रानीपोखरीस्थित शान्तिवाटिकामा विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुभएको छ । आजै भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा पनि विशेष कार्यक्रम राखिएको छ । यता शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरिएको छ ।
सिंहलाई नेपाली राजनीतिमा त्यागी र साहसीका लागि उदाहरणीय नेताको रुपमा लिइन्छ । उहाँ २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर हुनुहुन्थ्यो ।
सिंहको जन्म विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटी नजिकै र निधन २०५४ असोज २ गते भएको हो ।
राणाशासन अन्त्य गर्ने अभियानमा लाग्नुभएका उहाँले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई अघि बढाउन विशेष भूमिका खेल्नुभएको थियो ।
वि.सं २०१५ मा पहिलो निर्वाचित सरकारमा मन्त्री हुनुभएका गणेशमानलाई तत्कालीन पञ्चायती सरकारले विश्वेश्वर प्रसाद कोइरालासँगै मृत्युदण्डको माग गर्दै आठवटा मुद्दा दायर गरेको थियो । पछि विशेष अदालतबाट सफाई पाउनुभयो ।
टिप्पणीहरू