पूर्व मुख्यसचिवले भोलि राजीनामा दिँदै
केही दिनअगाडि भ्रष्टाचार मुद्दाबाट सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । गत असार ९ गते विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि असार १० गतेको मन्त्रिपरिषद बैठकले अर्याललाई योजना आयोगको कार्यालयमा विशिष्ट श्रेणीको मुख्यसचिव सरह पद सिर्जना गरेर स्थानान्तरण गरेको थियो । उनले सोही पदबाट भोलि राजीनामा दिन लागेको बुझिएको छ ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपसहित गत असारमा दायर मुद्दामा विशेष अदालतले कात्तिक दोस्रो साता सफाई दिएपछि अर्याललाई मुख्यसचिव सरहको हैसियतमा सरकारी सेवामा फर्कन बाटो खुलेको थियो । तर, सरकारले योजना आयोगमा सिर्जित विशेष पदमा कायम गरेपछि झण्डै एक वर्ष पदावधि बाँकी रहेका अर्यालले भोलि राजीनामा दिन लागेको बुझिएको छ ।
तत्कालीन मुख्यसचिवले चाडबाडको मुखमा राजीनामा दिँदा गलत अर्थ लाग्ने भएकाले तिहार र छठ पर्व सकिएपछि घर बस्ने मनसाय पहिले नै राखेको बताइन्छ । ‘मुद्दा जितेको अवस्थामा उनी सरकारसँग टसल गरेर बस्ने मुडमा थिएनन् । त्यसैले पदावधि बाँकी छँदै सरकारी सेवाबाट राजीनामा दिन लागेका हुन्,’ स्रोतको दाबी छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले राष्ट्रिय गौरवका कार्यक्रम आयोजना गर्ने जिम्मेवारी र दायित्वसमेत भएको व्याख्या गरेर अर्याललाई निर्दोष देखाइदिएको थियो ।
अर्यालको निलम्बनपछि असारदेखि लीलादेवी गड्तौला पहिले निमित्त र पछि कायममुकायम मुख्यसचिव बनिन् । भदौ १३ गतेदेखि सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएका थिए ।
टिप्पणीहरू