अपरिचित कल रेस्पोन्स नगर्न र व्यक्तिगत विवरण नदिन प्रहरीको सल्लाह
बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक सञ्जालका माध्यमबाट रकम ठगी गर्ने गिरोह सक्रिय भैरहँदा प्रहरीले अपरिचित नम्बरबाट आएको कल 'रेस्पोन्स' नगर्न सतर्क गराएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपरिचित नम्बरबाट फोन गरी व्यक्तिगत विवरण मागेमा नदिन आग्रह गरेको हो । बैंक तथा वित्तिय संस्थाको कर्मचारी हुँ भन्दै व्यक्तिगत विवरण माग्ने र ठगी गर्ने क्रम बढिरहेकाले व्यक्तिगत तथा गोप्य विवरण उपलब्ध नगराउन सर्वसाधारणलाई सूचित गराएको छ ।
सीआईबीका अनुसार केही दिनयता विभिन्न बैंक तथा वित्तिय संस्थाको कर्मचारी हुँ भनी खाता रिन्यू वा अपडेट गर्ने बहानामा अकाउण्ड नम्बर, जन्ममिति, ओटीपी, ठेगाना मागेर नक्कली नागरिकता र चोरीको कागजातबाट सीम कार्ड निकाल्ने र बैंक खातासमेत कब्जामा लिने क्रम बढेको छ ।
‘विभिन्न बैंक तथा वित्तिय संस्थाको कर्मचारी हुँ तपाईँको खाता रिन्यू वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरणजस्तै अकाउण्ड नम्बर, जन्ममिति, ओटीपी, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरुले नक्कली नागरिकता र चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरुको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट अनलाइन ठगी गर्ने गरेको उजुरी कार्यालयमा प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ ।
अनलाइन ठगी वा बैंकिङबाट बच्न आग्रह गर्दै सीआईबीले त्यस्ता शंकास्पद वा अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक तथा वित्तिय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि भनेको छ ।
टिप्पणीहरू