पहाडकी रानी बन्दीपुर (फोटोफिचर)

पहाडकी रानी बन्दीपुर (फोटोफिचर)
सुन्नुहोस्

तनहुँको बन्दीपुर उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा रहँदै घुम्न जानेका लागि बन्दीपुर आकर्षक पर्यटकीय स्थल बन्दै गएको छ । सदरमुकाम दमौलीबाट १८ किलोमीटर टाढा रहेको बन्दीपुर पुग्न डुम्रे हुँदै आठ किलोमीटरको उकालो यात्रा तय गरेपछि पुगिन्छ । 

भक्तपुरे शैलीमा बनेका अधिकांश इँट्टाका घरमा बुट्टा भरेका आँखीझयाल र कलाले श्रृँगारिएका टुँडाल देखिन्छन् । शान्त बजार र बजारको बीचमा ढुंगाको छपनी हालेर बनाइएको सडकमा मोटर गाडी गुडाउन बन्देज छ । 

भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी आकर्षणका केन्द्र हुन् । तीनधारेको चिसो पानी पनि अर्को विशेषता छ । एक हजार ३० मीटरको उचाईमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कँदा आँखैअगाडि देखिन्छन्, अन्नपूर्ण, धौलागिरी, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिमचुचुरा । 

योसँगै मस्र्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि देखिन्छ । हिम चुचुराबाट बहेको हावाको झोक्काले मीठो स्पर्श गर्दै फेरि आउन निम्तो दिएको भान हुन्छ । यी विशेषताले दुई सय ५० वर्षे लामो इतिहासमा पहिले व्यापारिकगढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ । 

घुम्न आउने घुमन्तेले बन्दीपुरलाई ‘पहाडकी रानी’ उपमा दिएका हुन् । जुन विश्वभर प्रख्यात छ । सिजन शुरु हुने बेला भएकाले पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आश्वस्त छन् । 

जाडोयाम शुरु हुनासाथ बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्ने गर्छ । पर्यटकलाई यहाँका पर्यटकीय एवम् ऐतिहासिकस्थलको बारेमा पर्याप्त जानकारी दिने गरिन्छ ।

तस्बिरहरु


 

टिप्पणीहरू