सरकारको पेलानमा परेका कुलमानले धारणा राख्दै
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइन विद्युत महशुल भुक्तानीमा सरकारसँग ‘टसल’ परिरहेका बेला उनले आज दिउँसो २ बजे प्राधिकरण कार्यालयमा पत्रकार सम्मलेन गर्न लागेका हुन् ।
आइतबार बसेको क्याबिनेट बैठकले विद्युतको बक्यौता रकम तिर्न बाँकी रहेका ३४ उद्योगमा महशुल नउठाई लाइन जोड्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यन्वयनका लागि उर्जा मन्त्रालयले प्राधिकरणलाई २४ घण्टे निर्देशन दिएको थियो ।
तर, विगतदेखि नै बक्यौता भुक्तानी नभई लाइन जोड्न नहुने पक्षमा रहेका कार्यकारी निर्देशक घिसिङले निर्देशन कार्यान्वयन गरेनन् । कानुनी प्रक्रिया मिचेर लाइन नजोड्ने उनको अडानपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गरे ।
त्यसपछि प्राधिकरण सञ्चालक समितिले सरकारको निर्देशन मान्ने निर्णय गर्यो । र, हिजोदेखि उद्योगहरुमा लाइन जोड्न थालिएको छ ।
यता, महशुल नउठाई लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता खडानन्द कँडेलले हिजो रिट दर्ता गरेका हुन् । रिटको पेशी आज तोकिएको छ ।
टिप्पणीहरू