१५ दिनभित्र पैसा नतिरे फेरि लाइन काट्ने कुलमानको चेतावनी
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता रकम नतिरे २८ उद्योगमा पुनः लाइन काटिने बताएका छन् ।
आज रत्नपार्कस्थित प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको निर्णय बमोजिम हिजो उद्योगहरुमा लाइन जोडिए पनि तोकिएको समयभित्र बक्यौता नतिरे पुनः काटिने स्पष्ट पारेका हुन् ।
गत आइतबार बसेको क्याविनेट बैठकले २४ घण्टाभित्र लाइन जोड्ने र १५ दिनभित्र बक्यौता रकम उठाउने निर्णय गर्दै कार्यान्वयको लागि प्राधिकरणलाई निर्देशन दिएको थियो । हिजो बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेसँग उद्योगहरुमा लाइन जोडिसकेको छ ।
ती उद्योगहरुलाई सचेत गराउँदै घिसिङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुनबमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशनअनुरूप १५ दिनमा फेरि बक्यौता उठेन भने प्रक्रियाअनुसार अघि बढ्छौँ ।’
कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम नतिरेका उद्योगहरुको कारण अन्य उद्योगहरुले पनि महशुल तिर्न आनाकानी गर्ने अवस्था आएको बताए । प्राधिकरणलाई नोक्सान भएको जानकारी गराउँदै थपे, ‘ठूला उद्योगीले तिर्नु नपर्ने, हामीले मात्रै तिर्नुपर्ने भन्न थाल्नुभयो अरुले पनि, यसले त प्राधिकरणलाई नोक्सान गर्यो ।’
घिसिङले देशको औद्योगिक वातावरण बिगारेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको पनि खण्डन गरेका छन् ।
टिप्पणीहरू