रवि लामिछानेलाई पोखरा फर्काउन जहाज परिवर्तन

रवि लामिछानेलाई पोखरा फर्काउन जहाज परिवर्तन
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लैजान केही ढिलाई भएको छ । जहाजमार्फत आज बिहानै पोखरा फर्काइने तयारी भए पनि मौसम खराबीका कारण ढिला भएको हो ।   

मौसम खराबका कारण जहाज उड्न नसकेपछि ढिला भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । अहिले मौसममा सुधार आइसकेको र केहीबेरमा यति एयरको जहाजमार्फत कास्की पठाइने बुझिएको छ । 

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई  बयानका लागि मंगलबार पोखराबाट रुपन्देही पुर्याइएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा तीनदिन बयान लिइएको थियो । बिहीबार बयान सकिएलगत्तै कास्की पठाउने भनिए पनि अबेर भएकोले आज बिहानै फिर्ता पठाउने प्रहरीको तयारी थियो ।

टिप्पणीहरू