मङ्सिर ७ बारे जानकारी दिन पत्रकार सम्मेलन
'जागरण सभा' को नाममा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको सत्तारुढ नेकपा एमालेले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको छ ।
आज दिउँसो २ बजे पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । मंसिर ७ मा हुने जागरण सभाबारे जानकारी दिन सम्मेलन आयोजना गरिएको उनको भनाई छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताकाविरुद्ध तथा कानुनी राज्य र विधिको शासनको पक्षमा जनमत बनाउन जागरण सभा गर्न लागेको एमालेको दाबी छ । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ५० हजार मानिस उपस्थित गराउन निर्देशन दिएकाले यसलाई एमालेले शक्ति प्रदर्शनको रुपमा लिएको देखिन्छ ।
सभामा उपस्थिति बढाउन काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला कमिटी मातहतका सबै संगठनलाई परिचालन गर्ने एमालेको तयारी छ ।
गत वर्ष मङ्सिर ७ मा पनि एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । सरकारको नेतृत्व गरिरहेको एमाले यस वर्ष पनि सोही दिन पारेर सडकमा उत्रन लागेको हो ।
टिप्पणीहरू