काँग्रेस सांसदविरुद्ध दुई निकायमा मन्त्रीको उजुरी

काँग्रेस सांसदविरुद्ध दुई निकायमा मन्त्रीको उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध अनुशासनको कारबाही माग गरेका छन् । आफूविरुद्ध कुप्रचार गरेको जनाउँदै मन्त्री पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसका अनुसार उजुरी अनुशासन समितिमा हिजो र संसदीय दलमा आज दर्ता गराइएको छ । सामाजिक सञ्जालमा आफूविरुद्ध नियमित रुपमा कुप्रचार जारी राखेकाले उजुरी गर्नुपरेको उहाँको भनाई छ । 

आज दर्ता गरिएको उजुरीमा लेखिएको छ, ‘नेपाली काँग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’ 

बजगाईंले मन्त्री पाण्डेले भ्रष्टाचार गरेको उल्लेख गर्दै पछिल्लो पटक मंगलबार सामाजिक सञ्जलमा लेखेका थिए । तर मन्त्री पाण्डेले कानूनी प्रक्रिया अपनाउने बनाएपछि उनले २४ घण्टा नबित्दै अधिकांश स्टाटस हटाएका हुन् ।

बजगाईं आफैँ पनि निकै विवादित पर्यटन व्यवसायी हुन् । उनी विदेशमा कालो धन राख्ने ५५ नेपालीको सूचीमा परेको एकथरी काँग्रेसीहरुको आरोप छ । केही समयअघि मदिरा सेवनपछि राजेन्द्र प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिन गएका थिए । त्यसबेलाको उनको अन्तर्वार्ता भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

टिप्पणीहरू