सरुवा भएका कर्मचारीलाई एक साताभित्र हाजिर हुन निर्देशन

सरुवा भएका कर्मचारीलाई एक साताभित्र हाजिर हुन निर्देशन

मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयबाट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारी एक साताभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारी हाजिर गराउन र रमाना व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका तथा काज फिर्ता गरिएका निकाय–कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नदिएका वा नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको मन्त्रालयले जनाएको छ । 

‘हालसम्म सरुवा, पदस्थापना, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिई सात दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउने,’ परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय तथा कार्यालयमा निजहरुको किरिया बिदा, बिरामी बिदा र प्रसुति बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउन पनि भनेको छ । 

रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराउने सेवासुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्न जनाइएको छ । 

साथै, अटेरी गर्ने विभागीय प्रमुख, कार्यालय प्रमुख वा सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाइने मन्त्रालयको चेतावनी छ ।
 

टिप्पणीहरू