भारतीय दूतावासबाट निस्केको टोली सशस्त्र मुख्यालयपछि सिंहदरबारमा
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । एपिएफ मुख्यालय हल्चोकमा आज भएको ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ मा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल भएको बुझिएको छ ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने र सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने भनिएको छ । बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
भारतीय सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल हिजो काठमाडौँ आएर आज बिहान साढे १० बजे राखिएको बैठकमा सहभागी भएको हो । यस्तो बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुने गरेको छ ।
हल्चोक जानुअघि भारतीय टोली बिहान साढे ९ बजेको समयमा भारतीय दूतावास लैनचौर पुगेको थियो । भ्रमण टोलीलाई बस्ने प्रबन्ध होटल मेरियटमा गरिएको छ ।
हल्चोकमा लञ्च खाएपछि टोली साढे २ बजे सिंहदरबार पुगेको बताइन्छ । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसविच गोकर्णमणि दुवाडीसँग भारतीय सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहनप्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । भेटमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसहित भारतीय टोलीका अन्य चार जना सदस्य पनि रहेको बुझिएको छ ।
गृह मन्त्रालयको भेटमा मोहनप्रसादकी श्रीमती शिखा श्रीवास्तव, सीमा बलका आइपीएस आईजी नायर हसेन खान, आइजी दीपक कुमार सिन्हा र विदेश मन्त्रालयका उपसचिव सकेता राजा म्युसिनिपाली पनि सहभागी रहेको बताइन्छ ।
टिप्पणीहरू