एक महिनामा दोस्रो पटक हराएकी राधा दुई सातादेखि बेपत्ता
कपिलवस्तुबाट दुई साताअघि हराएकी गुल्मीकी राधा विकको अहिलेसम्म पत्तो लागेको छैन ।
कात्तिक १८ गते रातिदेखि कपिलवस्तुको बुद्धभूमि नगरपालिका १, वीरपुरस्थित माइतीघरबाट हराएकी गुल्मीको मदाने गाउँपालिका ३, सिर्सेनी सिमकी २७ वर्षीया राधा हालसम्म बेपत्ता रहेको उनका बुबा जंगबहादुर विकले बताए ।
आफन्त र सम्भावित सबै स्थानमा सम्पर्क गर्दा पनि उनको बारेमा कुनै पत्तो नलागेको हो । उनका श्रीमान भागवत विकका अनुसार राधा असोज २९ गते पनि गुल्मीस्थित घरमा ७ र ९ वर्षका दुई नाबालक सन्तान छाडेर गुपचुप निस्केकी थिइन् ।
असोज ३० गते इलाका प्रहरी कार्यालय पुर्कोट दहमा जानकारी गराए लगत्तै तीन दिनपछि उनकी फुपू दिदीले बुटवलमा भेटेकी थिइन् । त्यसपछि माइतीघर कपिलवस्तुमा बस्दै आएकी उनीसँग भेट्न दशैं मानेर रोजगारको सिलसिलामा भारत गएका श्रीमान भागवत ससुराली फर्केका थिए ।
राधाले श्रीमानसँगको कुराकानीमा त्यत्तिकै मन बिग्रेर हिँडेको बताएकी थिइन् । तिहार मानेर घर फर्कने कुरा भएकाले आफु ढुक्कसँग भारत गएको उनले जानकारी दिए । तिहार लगत्तै फेरी बेपत्ताको खबर पाएपछि श्रीमती खोज्न ससुराली कपिलवस्तु फर्किएका छन ।
श्रीमानले कात्तिक २० गते श्रीमती हराएकोबारे इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा जानकारी गराएका छन् । तर, हालसम्म कुनै खबर नआएको उनले बताए ।
टिप्पणीहरू