अन्ततः मुख्य सचिवसरहको जिम्मेवारीबाट अलग
मुख्य सचिवसरहको जिम्मेवारीमा रहेका पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । भ्रष्टाचार मुद्दामा गत कात्तिक १४ गते विशेष अदालतबाट सफाई पाएपछि हिजो राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज बिहान राजीनामा दिएका हुन् ।
उनीमाथि सञ्चार मन्त्रालयमा सचिव छँदा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही दिनदेखि मुख्य सचिवबाट निलम्बित उनको पदलाई योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरह स्थानान्तरण गरिएको थियो ।
त्यसपछि लीलादेवी गड्तौला निमित्त र ३१ असारदेखि कायममुकायम मुख्यसचिव भइन् । १० साउनमा मुख्यसचिव नियुक्त उनले अवकाश पाएपछि १३ भदौदेखि एकनारायण अर्याल मुख्यसचिव छन् ।
टिप्पणीहरू